
पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलको संयूक्त आयोजना, फेदीखोला गाउँपालिका वडा नं. ३ को सहकार्य तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शनिबार फेदीखोला गाउँपालिका वडा नं. ३ का ८७ महिलाको पाठेघरको क्यान्सर सम्बन्धि भिआईए परिक्षण गरिएको छ ।
जसमा भाटखोलाका जम्मा ६ जनाको भिआइए पोजिटिभ देखिएको जनाइएको छ। उनीहरुलाई थप परिक्षणको लागि गण्डकी मेडिकल कलेजमा रिफर गरिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दिपेन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार सन् २०२४/२५ मा कास्की, स्याङजा, तनहुँ लगायत जिल्लाका १५ सयभन्दा बढी महिलाहरुको पाठेघरको भिआइए परिक्षण गर्ने लक्ष्य लिएको छ ।
उनले उक्त अभियान अन्तरगत तेस्रो शिविर भाटखोलामा गरिएको बताउँदै यसअघि पोखरा महानगरपालिका वडा नं. १६ र ७ नं वडामा गरिसकिएको जनाए ।
यस्तै, फेदीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटले आफ्नो वडामा यस्तो शिविरको आयोजना गरी सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।
उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको भन्दै वडा सदस्यहरु, स्वास्थ्य स्वयम्सेवीकाहरु, टोल विकास संस्थाहरुको पहलमा कार्यक्रम सफल भएको जानकारी दिए ।
क्लबका पुर्व अध्यक्ष प्रेम शर्मा, रोटरी क्लब अफ पोखरा क्यापिटलका संस्थापक अध्यक्ष सन्तोष सेन, भाटखोला स्वास्थ्य चौकी प्रमुख कविता गौतम, गण्डकी मेडिकल कलेज नयाँवजारकी स्त्री रोग विषेशज्ञ डा. बालकुमारी साह, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट लगायतले बोलेका थिए ।
