
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ। महोत्सवको दशौं दिन महोत्सव स्थलसँगै दर्शकको भीड अमरसिंह चोकदेखि महोत्सव स्थलसम्मको सडक भरिएको थियो।
दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत दर्शकलाई सम्हाल्न गाह्रो परेको थियो। शनिबार दिउँसो मात्र नभई साँझको कन्सर्टमा समेत युवाहरुको बाक्लो उपस्थिति रहेको महोत्सवका प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।
आज दर्शकको बाक्लो उपस्थितिसँगै महोत्स्व स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन उप-समिति संयोजक जयराम आचार्यले जानकारी दिए।
महोत्सवमा विशेष गरी घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री, जाडो मौसमका सामाग्री, कृषिका सामाग्रीसँगै तरकारी लगायतका सामाग्रीको व्यापार बढेको आचार्यले बताए।
महोत्सवको दशौं दिन लोक दोहारी गायक शान्तारानी परियार, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए, भने साँझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुतिमा युवाहरु झुमेका थिए।
महोत्सवको एघारौं दिन रचना रिमाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, कृष्णा गुरुङ, सरस्वती लामिछाने, तुलसा क्षेत्री, सुरेश भुर्तेल, सुनिमा गुरुङ, केश बहादुर गुरुङ लगायतको प्रस्तुति रहने छ, भने साँझको लाइभ कन्सर्टमा पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुति रहने महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए।
यस्तै, शनिबार सम्पन्न विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा विभुति शिक्षा सदन उत्कृष्ट प्रस्तुति र सरस्वती विद्या सदन लामाचौर वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा प्रवेश गरेको हो।
महोत्सवको अन्तिम दिन सोमबार सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौरबीच फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
