
पोखरा । गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था- संक्षिप्त झलक’ अनुसार असार २०८१ सम्म गण्डकीमा ३ खर्ब ४९ अर्ब ७ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ।
यो परिमाण कुल राष्ट्रिय कर्जाको ६.७६ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६७ अर्ब २१ करोड रुपैयाँ बराबर छ। केन्द्रीय बैंकका अनुसार निक्षेपतर्फ गण्डकी प्रदेशमा ५ खर्ब ३४ अर्ब ५१ करोड रहेको छ। यो राष्ट्रिय कुल निक्षेपको ८.२३ प्रतिशत हो । देशको कुल निक्षेप ६४ खर्ब ९५ अर्ब १४ करोड रुपैयाँ बराबर छ।
त्यसैगरी गण्डकीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १ हजार ४ सय छ । यो १२.१४ प्रतिशत हो । तीमध्ये वाणिज्य बैंकका ५ सय ९९, विकास बैंकका १ सय ९१, वित्त कम्पनीका ३७ र लघुवित्त वित्तीय संस्थाका ५ सय ७३ शाखा छन्। देशभरि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० छ।
गण्डकीमा वाणिज्य बैंकको उपस्थिति रहेका स्थानीय तह ८५ छ। यो ११.३० प्रतिशत हो। देशभरि भने ७ सय ५३ छ। त्यस्तै यो प्रदेशमा डेबिट कार्ड चलाउनेहरू १३ लाख १ हजार ३ सय २० छन्। यो कुल हिस्साको १०.९० प्रतिशत हो। क्रेडिट कार्ड चलाउने १९ हजार २३ छन्। यो कुल हिस्साको ६.५८ प्रतिशत हो।
यसैगरी मोबाइल बैंकिङ चलाउनेहरू गण्डकीमा २७ लाख ४५ हजार ८ सय ५ छन्। यो कुल हिस्साको ११.१४ प्रतिशत हो। इन्टरनेट बैंकिङ चलाउने भने २ लाख ३७ हजार ६ सय १६ छन्। केन्द्रीय बैंकका अनुसार असार २०८१ सम्म गण्डकी प्रदेशमा १५ अर्ब ५१ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।
