देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

Share:

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन् ।

सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापना लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रदेश प्रमुख भट्टले निरङ्कुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना पूरा गर्न दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।

शुभकामना सन्देशमा भनिएको छ, ‘आजको दिन नेपाल र हामी सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो । महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतको बलिदानद्वारा प्राप्त भएको प्रजातन्त्रदेखि इतिहासको विभिन्न कालखण्डमा महान योद्धाहरूको योगदानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्त भएको छ ।’

यो दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: