
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरेका छन्।
शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
गायिका शान्तिरानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै सरकार ढल्छ भनेर दिँदै हिँडेको प्रतिक्रियाप्रति आपत्ति जनाए।
‘विपक्षमा रहेका साथिहरूले एउटा कुरामा आफूलाई बेर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदी इत्यादी,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा गीत बजारमा अलि ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूल् गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन।’
प्रधानमन्त्री ओलीले उक्त गीत मनोरन्जनका मञ्चमा सुहाउने भए पनि राजनीतिक मञ्चमा नसुहाउने दाबी गरे।
‘अझै एक जना माननीयले यो गित श्लील भएन भनेको पनि सुनेको छु । यस्तो टिप्णी पनि छ । यस्तो गायन मनोरन्जनका मञ्चमा गाउन बन्द गरे हुन्छ। ०८४ सम्म सरकार टसमस गर्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने।
