सर्लाहीको लालबन्दीमा प्रहरीले ११० केजी गाँजा बरामद गरेको छ। आइतबार साँझ लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीमा लुकाइ राखिएको गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास तथा प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा अस्थायी प्रहरी पोष्ट परवानिपुरसहितको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार, काँसघारी क्षेत्रमा रातो प्लास्टिकले बेरिएको र प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा २२ वटा पोकाहरू फेला परेका छन्। हाल उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।