टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण

Share:

पोखरा। पोखराको बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण गरिएको छ।

कोइका र युएनडिपीको आर्थिक सहयोगमा मङ्गलबार ६०/६० थान सो सामग्री प्रदान गरिएको छ। सो अवसरमा मल बनाउनका लागि आवश्यक केमिकल समेत प्रदान गरिएको हो।

पोखरा महानगरपालिकाको आयोजनामा तथा ग्रीन वेस्ट म्यानेजमेन्टको सहजीकरण र बगैँचा टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थाका सदस्यहरूलाई सो सामग्री प्रदान गरिएको छ।

ग्रीन वेस्ट म्यानेजमेन्टका प्रशिक्षक कुशल घिमिरे र सुदीप गुरुङले कम्पोस्ट मल बनाउने तरिका र दिगो फोहर व्यवस्थापनका बारेमा टोल विकास संस्थाका सदस्यहरूलाई सिकाएका थिए। प्रशिक्षक घिमिरेले महानगरका ३३ वटै वडाका सक्रिय टोल विकासकालाई सहयोग गरिने कार्यक्रम रहेको जानकारी दिए।

पोखरा महानगरपालिकाको वडा नं ६ मा रहेका सक्रिय टोल विकास संस्थाहरू मध्ये सक्रिय पाँच वटालाई प्रदान गर्ने योजना अनुसार बगैँचा टोल विकासलाई प्रदान गरिएको पोखरा वडा नं ६ का वडा सदस्य वासु बरालले जानकारी दिए।

कार्यक्रममा बगैँचा टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले संस्थाले सदस्यहरूका लागि विभिन्न कार्यक्रमहरू ल्याउने गरेको बताएकी थिइन्। सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निर्वतमान अध्यक्ष एवं संस्थाका सल्लाहकार नेत्र भण्डारीले डस्टबिन वितरण कार्यले सफा टोल बनाउन सहयोग पुग्ने बताए।

अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछानेले टोल विकासले सदस्यहरूलाई विभिन्न तालिमहरू दिएको स्मरण गर्दै घरबाट निस्कने फोहरलाई कम्पोस्ट मल बनाई आय आर्यआर्जनको स्रोत बनाउनुपर्नेमा जोड दिइन्।

कमेन्ट गर्नुहोस्
Share: