ध्वनि प्रदूषणको गुनासो आयो, रोक्नू : पोखराका मेयर

Share:

पोखरा। शनिबार साँझ अबेरसम्म प्रदर्शनी केन्द्रको कन्सर्टमा विशिष्ट अतिथि थिए, पोखराका मेयर धनराज आचार्य। ब्याक टु नाइन्टिज शीर्षकमा भएको विशेष कार्यक्रममा उनले मन्तव्य पनि दिए।

महानगरकै सहयोगमा पोखरामा दिनदिनै मेला महोत्सव र कन्सर्टहरू भइरहेका छन्। कतिसम्म भने न्यूरोड युवा क्लबले २ दिनसम्म सडक कब्जा गरेर कन्सर्ट चलायो। त्यसमा पनि मेयर नै प्रमुख अतिथि बने।

शनिबारको कन्सर्टबाट फर्किएपछि आइतबार बिहानै पोखरा महानगरको फेसबुक पेजबाट एउटा सूचना आयो, ध्वनि प्रदूषण नियन्त्रणको आह्वान सहित। त्यसमा लेखिएको थियो, ‘पोखरामा ध्वनि प्रदूषण हुने गरी प्रचार प्रसार तथा माइकिङ लगायत गतिविधि भइरहेको जनगुनासो प्राप्त हुन आएकोले महानगरको ध्यानाकर्षण भएको छ।’

सूचना त्यसमा मात्रै रोकिएन र अघि लेखियो, ‘अत्यावश्यक र जरुरी सार्वजनिक महत्वको विषयमा बाहेक चर्को स्वरमा ध्वनि प्रदूषण हुने खालका कुनै पनि प्रकारको गतिविधि नगर्न नगराउन अनुरोध गरिन्छ। महानगरको अनुरोधलाई अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा सूचित गरिन्छ।’

पोखरामा आयोजना हुने भनिएको कोटिहोमलाई लक्षित गरी महानगरपालिकाले यस्तो सूचना निकालेको हो। आइतबार कोटिहोमको आयोजक मानव सेवा फाउण्डेसनले भने जुनसुकै हालतमा पनि पोखरामा कोटिहोम गर्ने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: