सुर्खेतमा बस दुर्घटना : ३५ जना घाइते, ६ गम्भीर

Share:

काठमाडौँ । सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । भेरी नगरपालिका-५ स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन्।

दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनामा परेको बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए।

‘दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन, तर ६ जना गम्भीर घाइते भएका छन्,’ उनले भने, ‘दुर्घटनाको अझ थप विवरण आउन बाँकी नै रहेको छ।’

प्रहरीका अनुसार बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको थियो ।

अहिले उद्धारको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको डीएसपी विश्वकर्माले बताए । बस अनियन्त्रित भई सडक पुल नजिकबाट ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: