
पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको सेमिफाइनल तथा प्रतियोगिताकै २५०औं खेलमा चर्च ब्वाइज युनाइटेडलाई हराउँदै पुलिस उपाधिनजिक पुगेको हो।
पुलिसको जितमा सन्जिव लामाको गोल निर्णायक रह्यो। उनले ५८औं मिनेटमा २५ यार्ड टाढाबाट प्रहार गरेको बल गोलरक्षकलाई चक्मा दिँदै गोल भएको थियो। नजिकैबाट गएको बलको गोलरक्षक टिकेन्द्र थापाले मेसो पाउन सकेनन्।
आहारारा पोखरामा पुलिसले आफ्नो ५०औं खेललाई जितसहित स्मरणिय बनायो। पुलिस २०७६ सालपछि आहारारामा फाइनल पुगेको हो। पुलिसको यो ११औं फाइनल हो। पुलिसले ६ पटक उपाधि जित्दा ४ पटक उपविजेता बनेको छ।
पुलिसले अब उपाधिका लागि थ्री स्टार र ब्ल्याक बुल्स एफसीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
