सोँथर बेँसी टारी बजार मेला सकियो, फाइब ए साइड फूटबलको उपाधि लम्तरी युवा क्लबलाई

Share:

पोखरा। मादी गाउँपालिकामा भएको सोँथर बेँसी टारी बजार मेला सुरु शुक्रबार समापन भएको छ। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको सँगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा दुई दिन सम्म सोंथर बेँसी टारी बजार मेला भएको हो। तेस्रो संस्करणको मेला फागुन १ र २ गतेसम्म चलेको थियो।

मेलामा भएको खुल्ला फाइब ए साइड पुरुष फूटबल खेलकुद प्रतियोगिताको उपाधि लम्तरी युवा क्लब मादी-१० भाचोकले हाता पारेको छ।

शुक्रबार भएको फाइनल खेलमा पाखुरीकोट युवा क्लब मादी-८ लाई २-१ ले पराजित गर्दै लम्तरी युवा क्लबले उपाधि हाता पारेको हो। विजेता बन्दै लम्तरी युवा क्लबले नगद ४५ हजार मेडल र ट्रफी हात पार्दै गर्दा पाखुरीकोट युवा क्लबले उपविजेता वन्दै नगद ३० हजार मेडल र ट्रफीमा चित्त बुझायो।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा लम्तरी युवा क्लबका कृष्ण गुरुङ र सर्वोकृष्ट खेलाडिमा लम्तरी युवा क्लबकै विवेक गुरुङ घोषित भए। उनीहरुलाई नगद ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी श्रुति लेखन प्रतियोगितातर्फ जनमन्दिर आधारभूत विद्यालय मादी-१० की नम्रता गौतम प्रथम, जनकल्याण मावि मादी-१० का रेजल ज्ञावली द्धितीय र देवी आधारभूत विद्यालय मादी–१० का समित नेपाली तृतीय भए। उनीहरुलाई क्रमश ३ हजार, २ हजार, १ हजार र ट्रफी प्रमाण पत्र प्रदान गरिएको थियो।

खुल्ला सामूहिक नृत्य प्रतियोगिता तर्फ प्रभात आधारभूत विद्यालय मादी-८ प्रथम, हिमालय मावि मादी-९ द्धितीय र नागिधार आमा समूह तृतीय भए। उनीहरुलाई क्रमश नगद ७ हजार, ५ हजार, ३ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो।

महिला रसी तान्ने प्रतियोगिता तर्फ थुम्सीकोट महला समूह प्रथम र प्रभात आधारभूत विद्यालयका शिक्षिकाको समूह द्धितीय भएका थिए। उनीहरुलाई नगद ७ हजार, ५ हजार प्रदान गरिएको थियो ।

त्यसैगरी पुरुष रसी तान्ने प्रतियोगिता तर्फ सोँथर बेँसी समूह ए प्रथम र लुम्दी युवा समूह द्धितीय भएका छन् । उनिहरुलाई नगद ८ हजार र ६ हजार प्रदान गरिएको थियो ।

उक्त मेलाको प्रदर्शनीमा सहभागि किसानलाई प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको थियो। कार्यक्रममा मादी-८ का जनप्रतिनिधि तथा सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङ मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङको सहसंयोजक वेदबहादुर गुरुङ, सहसंयोजक नन्दलाल अधिकारी, द्धितीय उपाध्यक्ष दीर्गमान गुरुङ, सचिव डिल्लीराज गिरी, सहसचिव राजेन्द्र अधिकारी, कोषाध्यक्ष रमा क्षेत्री, सहकोषाध्यक्ष सूर्यप्रसाद अधिकारीले पुरस्कार वितरण गरेका थिए।

मेलामा राखिएको गोरु जुधाइँ प्रतियोगिता मुख्य आकर्षण बनेको थियो। गोरु पाल्ने किसानहरुलाई निकै आकर्षण गराएको उक्त गुरु जुधाइँ प्रतियोगितामा १६ वटा गोरुको सहभागिता रहेको थियो।

यस वर्षको गोरु जुधाइँ प्रतियोगितमा पनि स्थानीय पदमबहादुर विकको गोरु प्रथम भएको छ भने भूमलाल अधिकारीको गोरु द्धितीय भयो। प्रतियोगितामा प्रथम हुनेले ८ हजार र द्धितीय हुनेले ६ हजार नगद र प्रमाण पत्र प्राप्त गरे। मेलामा नागिधारको घाटु नाच प्रस्तुत गरिएको थियो।

सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवद्र्धन गरौ भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: