
काठमाडौँ। व्यक्तिगत सफाइ भन्नासाथ सकेसम्म दैनिक नुहाउने कुरा आइहाल्छ। तर अमेरिकाका एक चिकित्सकले भने ५ वर्षदेखि ननुहाएको दाबी गर्दै यो बुझाइलाई चुनौती दिएका छन्। डा. जेम्स ह्याम्ब्लिनले लामो समयसम्म ननुहाउँदा पनि शरीरमा कुनै दुर्गन्धन नआएको जिकिर पनि गरेका छन्।
सीएनएनका प्रमुख चिकित्सा संवाददाता डा. सञ्जय गुप्तासँगको ‘चेसिङ लाइफ’ पोडकास्टमा कुरा गर्दै ड. ह्याम्ब्लिनले यस्तो दाबी गरेका हुन्। यतिमात्र होइन, उनले स्याम्पु, साबुन र अन्य प्रकारका ‘स्वच्छता’ सम्बन्धी उत्पादनहरू शरीरका लागि हानिकारक भएको भन्दै प्रयोग नगर्नसमेत सिफारिस गरेका छन्।
स्वास्थ्य विज्ञ र लेखकसमेत रहेका उनले दैनिक नुहाउनुपर्छ भन्ने धारणा परीक्षण गर्न आफैंले ५ वर्षसम्म ननुहाएको बताएका हुन्। दैनिक नुहाउने बानी आवश्यकता भन्दा पनि व्यक्तिगत रुचि हो भन्ने उनको जिकिर छ।
‘कुनै पनि फार्मेसीमा प्रवेश गर्दा रुघाखोकीको औषधि भएको भागको छेउमा साबुन र स्याम्पुको लामो पंक्ति देखिन्छ,’ उनले भने, ‘यसले मलाई सोच्न बाध्य बनायो यी सबैको उपयोगिता के हो रु यी सबै उत्पादन कत्तिको आवश्यक छन् ?’
छालामा हुने माइक्रोबायोममा जीवाणुको जटिल प्रणाली रहेको हुन्छ जसले छालाको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ। बारम्बार साबुन र स्याम्पुको प्रयोगले छालाले स्वाभाविक रूपमा उत्पादन गर्ने बोसोलगायतका तत्त्वहरू हटाइदिन्छ।
‘साबुनले छालाको बोसो, लिपिड्स र तेल हटाउँछ,’ डा. ह्याम्ब्लिनले पोडकास्टमा भनेका छन्। यसले सफा गर्ने, छाला सुक्खा बनाउने र त्यसपछि लोसन र अन्य उत्पादनहरूको प्रयोग गरेर पुनः सन्तुलन मिलाउने चक्र सुरु गरिदिन्छ।
सबैभन्दा ठूलो चिन्ता के हो भने ननुहाउँदा शरीरबाट दुर्गन्ध आउला भन्ने डर हुन्छ। तर, ह्याम्ब्लिनले लामो समयपछि शरीरले आफैं अनुकूलन गरेको अनुभव सुनाए।
‘तपाईलाई आफ्नो रूपरंग र अनुभूति मनपरिरहेको छ भने र अरूलाई कुनै असहजता भएन भने, धेरै कम प्रयासमै राम्रै हुन सकिन्छ,’ ह्याम्ब्लिनले भने।
यसबाहेक, उनले कसरतपछि पसिना र नुनले भिजेको शरीरलाई केवल पानीले पखाले पुग्ने बताएका छन्। पोडकास्टमा डा. गुप्ताले आफूले दैनिक कसरत गर्ने र त्यसपछि पानीले सामान्य पखाल्न मनपर्ने बताएका छन्।
यसमा ह्याम्ब्लिनले भने, ‘यदि छालामा नुनको पत्र जमेको छ भने, पखाल्नु ठिकै हो। तर, चिप्लो वा चिल्लो वस्तु नभएको अवस्थामा साबुनको आवश्यकता पर्दैन।’
उनले मानिसलाई ननुहाउन सुझाव दिएका होइनन्, बरु शारीरिक सफाइको विषयमा सोचेर निर्णय लिनुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘मानिसले सामाजिक अपेक्षाभन्दा बढी आफ्नो व्यक्तिगत फाइदाको आधारमा निर्णय गर्न सक्नुपर्छ।’
डा. ह्याम्ब्लिनले ‘धेरै धुनु बराबर धेरै सफा हुनु’ भन्ने सोचलाई परिवर्तन गर्न खोजेका छन्। उनले विज्ञान र व्यक्तिगत सन्तुलनको आधारमा छालाको प्राकृतिक प्रणालीलाई सम्मान गर्दै स्वच्छताको सन्तुलित दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिएका छन्।
