
पोखरा । आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो।
शनिवार पोखरा रंगशालमा भएको खेलमा सफल टोली पुलिसलाई ३-१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो। ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो।
ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे। पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो।
यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र सेमिफाइनलमा५ पटकको विजेता थ्री स्टारलाई ४-० ले पराजित गरेको थियो।
ब्ल्याक बुल्सले पहिलो सहभागितामै आहारार पोखरा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ । कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकी क्लबसामु फिक्का रह्यो ।
आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरु समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।
पुलिसले खेलको तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो । क्रसमा प्राप्त बलमा अरुण गाहाको हेडर पोष्टमा लागेर फर्किएपछि अग्रता लिन चुकेको थियो ।
विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहाराराको आकर्षक ट्रफी प्राप्त गर्यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो ।
आहारारा पोखरा गोल्डकपमा हालसम्मका विजेता
२०५८ : नेपाल पुलिस क्लब
२०५९ : नेपाल पुलिस क्लब
२०६० : मनाङ मर्स्याङ्दी क्लब
२०६१ : मनाङ मर्स्याङ्दी क्लब
२०६२ : अफ्रिकन युनाइटेड
२०६३ : थ्रीस्टार क्लब
२०६४ : नेपाल पुलिस क्लब
२०६५ : नेपाल पुलिस क्लब
२०६६ : नेपाल पुलिस क्लब
२०६७ : थ्रीस्टार क्लब
२०६८ : मनाङ मर्स्याङ्दी क्लब
२०६९ : थ्रीस्टार क्लब
२०७० : सहारा क्लब
२०७१ : थ्रीस्टार क्लब
२०७२ : मनाङ मर्स्याङ्दी क्लब
२०७३ : मनाङ मर्स्याङ्दी क्लब
२०७४ : नेपाल पुलिस क्लब
२०७५ : थ्रीस्टार क्लब
२०७६ : मनाङ मर्स्याङ्दी क्लब
२०७७ : संकटा एफसी
२०७८ : एपीएफ एफसी
२०७९ : संकटा एफसी
२०८० : त्रिभुवन आर्मी एफसी
२०८१ : ब्ल्याक बुल्स एफसी, उज्बेकिस्तान
