गाउँमा मलामी पाउनै मुस्किल, दुई दिनपछि घाट पुर्‍याइयो मानाको शव

507
0
Share:

काठमाडौँ । गाउँकै एक्लो दमाई परिवार सिगास गाउँपालिका-१ अङडेगाडा गाउँ। सिमसिमे हावाले मनमा शून्यता थपिरहेको थियो। ३० वर्षीय प्रकाश टेलर आमाको पार्थिव शरीर अगाडि राखेर मलामीको प्रतीक्षामा बसेका थिए। तर, गाउँभरि मानिस भए पनि कोही मलामी जान तयार भएनन्।

समाजले बनाएको जातको पर्खाल यति कठोर रहेछ कि आमाको शव उठाउन समेत कोही आएन्। प्रकाशकी आमा ६१ वर्षीया माना टेलर मधुमेहबाट पीडित थिइन्। शनिबार बिहानै उनको निधन भयो। शोकले भिजेको घरमा आफन्त र छरछिमेकी उपस्थित भए, तर मलामीको पंक्तिमा कोही पनि उभिएनन्। दमाई जातिको घरमा मृत्यु हुँदा पनि समाज त्यही पुरानै सोचको जन्जिरमा बाँधिएको थियो।

गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, लोहार, चुनारा, सार्की जाति थिए। तर, दलितभित्रकै विभाजनले गर्दा मानाको शव उठाउन कोही राजी भएन। प्रकाशले भक्कानिँदै भने, “मलामी जाने कोही भए आधा घण्टाको दूरीमा रहेको ढणालीगाडमा आमाको अन्त्येष्टि गर्न सकिन्थ्यो। तर, यो जात व्यवस्थाले आमाको शव उठाउन नसक्दा म एक्लिएको महसुस गरिरहेको छु।”

प्रकाशका ७२ वर्षीय बुबा श्रीमतीको मृत्युपछि शिथिल बनेका छन्। शरीरले साथ नदिने भएकाले ओछ्यानमै लडिरहेका छन्। प्रकाश आफैं भूमिराज आधारभूत विद्यालयमा निजी स्रोतको शिक्षक। समाजलाई शिक्षाको उज्यालो दिन्छन्, तर उनको आफ्नै घरमा मृत्युको घडीमा समाजले उनलाई साथ दिएन्।

गाउँमा सयौं मानिस भए पनि मानाको शवलाई काँध दिने कोही भएन्। प्रकाशले हार मानेनन्। उनले पुर्ख्यौली गाउँ पाटन नगरपालिका-४ बगाडीमा रहेका आफन्तलाई फोन गरे। कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट दाजुभाइहरू आउँदैछन् भन्ने खबर पाएपछि मात्र प्रकाशको मन केही हल्का भयो।

“गाउँलेहरूले सान्त्वना दिएका छन्, साथ दिएका छन्। तर शव उठाउने आँट गरेनन्,” प्रकाशले पीडा पोखे। स्थानीय ज्ञानेन्द्र ऐरी भन्छन्, “यहाँ जातीय भेदभाव कायमै छ। सहयोग गर्न सबै अघि सर्छन्, तर शव छुन मान्दैनन्। प्रकाश सरका अरू आफन्त गाउँमा नहुँदा समस्या झन् बढ्यो।”

वडाध्यक्ष रामचन्द्र ऐरीले भने, “जातकै कारण मलामी नपाएको हो कि होइन भन्नेबारे विस्तृत बुझ्नुपर्छ। परिवारले गाडीको व्यवस्था गरिदिन आग्रह गरेका थिए, हामीले पाटन नगरपालिकासँग सहयोग मागेका छौं।”

आफ्नै आमाको शव उठाउन मानिस नपाउँदा प्रकाशले गाडीको खोजी थाले। दिनभरि प्रयास गर्दा पनि कुनै गाडी सहजै पाइएन। स्थानीय बासन्त विश्वकर्माले साँझ आठ बजेतिर आफ्नै ट्र्याक्टर दिने सहमति जनाएपछि बल्ल मानाको शव घाटसम्म पुर्‍याउने सम्भावना बनेको थियो।

“शव बोक्न मान्छे नभएपछि गाडी नै खोज्नुपर्‍यो,” प्रकाशले भने, “अब आइतबार दाहसंस्कार गर्नेछौं।”

यो केवल एउटा घटनामात्र होइन, जातीय विभेदको कठोर वास्तविकता हो। मृत्युपछि सबै समान हुन्छन् भनिन्छ, तर यहाँ समाजको सोच अझै पनि बाँझिएको देखिन्छ। प्रकाश टेलर शिक्षक भएर समाजलाई शिक्षित बनाइरहेका छन्, तर उनको आफ्नै समाजले उनलाई अपहेलित गर्‍यो।

कति दिन अझै यस्तो अन्याय सहनुपर्नेरु कति आमाहरूको शव यस्तै गरी एक्लिँदै जानुपर्नेरु जबसम्म समाजले यी पर्खालहरू भत्काउने साहस गर्दैन, तबसम्म हरेक पुस्ताले यस्ता कहर सहनुपर्नेछ।

आज मानाको शव उठेन, भोलि अर्को कसैको पालो पक्कै आउँछ। तर, प्रश्न उहीँ छ के हाम्रो समाज कहिल्यै बदलिने छैन ?

दुई दिनपछि उठाइयो मानाको शव

गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बसेका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्‍याएर दाहसंस्कार गरे ।

६१ वर्षीय माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाढा पाटन नगरपालिका-६ तिपडीगाड पुर्‍याइयो। प्रकाशकी आमा मानाको शनिबार बिहान ११ बजे मृत्यु भएको थियो। गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताए।

आइतबार २५ हजार रुपैयाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई मशानघाट पुर्‍याइएको उनको भनाइ छ।

समाचारले भयो ध्यानाकर्षण

मलामी जाने मानिस नपाउँदा दिनभरि आमाको शव कुरेर बसेका प्रकाश टेलरको विषयमा गोरखापत्र लगायतका सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जनप्रतिनिधि, अधिकारकर्मी, राजनीतिक दलका नेताले घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्।

राष्ट्रिय दलित आयोगका देवराज विश्वकर्मा, सामाजिक अभियन्ता डा।मित्र परियार, अधिवक्ता गोविन्दराम परियार, राष्ट्रिय मावन अधिकार आयोगका पवन भट्ट लगायतले समाचार पढेर घटनाप्रति गम्भीर भएको बताए।

समाचार प्रकाशित भएपछि दलित अधिकारकर्मी रिता परियार, बलभन्द्र दयालले प्रकाश दमाईलाई यातायात खर्च उपलब्ध गराउने बताए।

प्रकाशको परिवारलाई सिगास गाउँपालिका र स्थानीय वडा कार्यालयबाट हुनसक्ने सहयोग जनप्रतिनिधिका तर्फबाट गरिने सिगास गाउँपालिका-१ का वडाध्यक्ष राचन्द्र ऐरीले प्रतिबद्धता जनाए।

कमेन्ट गर्नुहोस्
Share: