विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएकोप्रति इक्यानले जनायो आपत्ति

Share:

काठमाडौँ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युपछि सिर्जित घटनाप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आपत्ति जनाएको छ ।

इक्यानले सोमबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनको गैरजिम्मेवार निर्णयप्रति आपत्ति प्रकट गरेको हो। मृतक छात्राले केही समयअघि नै आफूमाथि भएको  दुर्व्यवहारबारे जानकारी गराए पनि कुनै कारबाही नभएका कारण सो घटना भएको इक्यानले जनाएको छ।

विश्वविद्यालय प्रशासनले यस घटनालाई गम्भीररूपमा नलिएको र विद्यार्थीको मृत्युपछि उचित अनुसन्धान तथा जानकारी दिन असफल भएको भन्दै इक्यानले विश्वविद्यालयले नेपाली विद्यार्थीलाई जबर्जस्ती क्याम्पस छोड्न बाध्य पार्नु अन्यायपूर्ण र गैरजिम्मेवारपूर्ण निर्णय भएको जनाएको छ।

नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको सुरक्षामा गम्भीर प्रश्न उठेको जनाउँदै इक्यानले शिक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बन्धित निकायलाई कूटनीतिक पहल गर्न अनुरोध गरेको छ।

इक्यानले घटनाको निष्पक्ष छानबिनका लागि भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने, मृतक विद्यार्थीका परिवारलाई सहयोग पुर्याउन नेपाल सरकारले भारत सरकारसँग आधिकारिक वार्ता गर्नुपर्ने र केआईआईटी विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्नेलगायत माग राखेको छ।

यस्तै, इक्यानले विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई कलेज छोड्न बाध्य पार्ने निर्णय तत्काल खारेज हुनुपर्ने पनि माग गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: