
पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाशिवरात्रिका अवसरमा शिवरात्रि महामहोत्सव २०८१ हुने भएको छ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको संयुक्त आयोजनामा शिवरात्रि महामहोत्सव गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रविण पौडेलले जानकारी दिए।
महामहोत्सवको अवसरमा शिवरात्रिका दिन प्रातःकालीन महाशिव आराधना, सामूहिक ब्रतबन्ध, सन्ध्याकालीन शिव महाआरती एवं अखण्ड हवन गरिनेछ। सायंकालीन अखण्ड दीप प्रज्वलन, सामूहिक शिव महाधुनि प्रज्वलन, सामूहिक बिल्वपत्र अर्पण र भजनकीर्तन कथा प्रवचन गरिनेछ।
महामहोत्सवका क्रममा विश्व शान्तिको कामनका लागि उखु, गुर्जो, बेल आदिको रसद्वारा अभिषेक, षोडशोपचारद्वारा पूजा आराधना आरती गरिनेछ भने रात्रिकालीन चार प्रहरमा शिव आराधना गरिने जनाइएको छ।
प्रातकालीन श्रृंगार, १ हजार ८ बिल्व अर्पण, अखण्ड दीपदान आदि कार्यक्रम तय गरिएको छ। महामहोत्सवमा कर्ता बन्नका लागि १ हजार १ सय रुपैयाँ सहयोग रकम निर्धारण गरिएको सहायक प्रधानाध्यापक पौडेलले जानकारी दिए।
