
चितवन – मोटरसाइकल दुर्घटनापछि त्रिशूली नदीमा बेपत्ता भएका युवक ९ दिनपछि मृत अवस्थामा फेला परेका छन्।
फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट त्रिशूलीमा खसेका लमजुङको चन्द्रेश्वर घर भई चितवनको भरतपुर महानगरपालिका–१, रामनगरका २७ वर्षीय रोहित राना आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
चितवनका एसपी राजन लिम्बूका अनुसार रानाको शव उनी खसेको स्थानभन्दा करिब १०० मिटर तल नदी किनारमा भेटिएको हो। शव भेटिएपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ। रानाका परिवारजनले शव सनाखत गरिसकेका छन्।
रोहित सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकल सडकमै अडिएको अवस्थामा फेला परेको थियो भने उनी त्रिशूली नदीमा खसेका थिए।
