वेदबहादुरले छोराको सम्झनामा सबै सम्पत्ति सुम्पिए प्रतिष्ठानलाई !

Share:

पोखरा। बुवा मलाई बोर्डिङ पढाउनु भएको भए। मम्मी बुवालाई किन विदेश पठाउनु पर्‍यो अव आराम गर्नु भन्नु। बुवा जसले शत्रु व्यवहार गर्छन नि उसको घर पटक पटक जानुपर्छ। प्रेम गरे पनि बुवाको आज्ञा लिएर मात्र विवाह गर्ने हो। म छु नि मम्मी बुवा। बुवालाई व्यवहार गर्न गाह्रो भयो होला मलाई हप्ताको ५ सय भए पुग्छ नि मम्मी। मम्मी म तपाईहरुलाई सेवा गर्ने केटीसँग नै विवाह गर्छु के।

यी हरफ पढ्दा जो कोहीँ पनि भावुक नहुने कुरै भएन। माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ मा रहेको सागर मेमोरियल बोर्डिङ स्कुलको वार्षिकोत्समा अवसर आफ्नो छोराको फोटोमा लेखिएका यी शब्दले उपस्थित सबैका आखाँ रसाए।

घटना थियो २०६७ साल बैशाख २७ गते। त्यो दिन माछापुच्छ्रे गाउँपालिका वडा नं.३ निवासी वेद कुमार श्रेष्ठ र उनकी श्रीमती सीतादेवी श्रेष्ठको मुहारको खुशी लुटियो। छोरा मोटरसाईकल दुर्घटना परि निधन भएपछि बुवा वेदकुमार र श्रीमती सीतादेवीलाई ठूलो बज्रपात पर्‍यो। ती सबै पिडालाई लुकाएर छोरालाई जिवन्त बनाउनका लागि छोराकै सम्झनामा बुवा सागर स्मृति प्रतिष्ठान गठन भयो।

छोरा सागर श्रेष्ठको स्मरणमा प्रतिष्ठानको माताहातमा रहने गरी सागर मेमोरियल बोर्डिङ स्कुल स्थापना भयो। छोराको नाम जिवन्त राख्नका लागि बुवा वेदकुमारले छोराको नाममा ‘बुवा सागर स्मृति प्रतिष्ठान’ गठन गरी स्कुल सञ्चालनमा ल्याएका हुन्। प्रतिष्ठान मार्फत सञ्चालन यस विद्यालयलले निशुल्क तथा न्यूनतम शुल्कमा यस क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रणालिको शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयको वार्षिकोत्सव समारोहमा छोराको नाम जिवन्त राख्न वेद कुमार श्रेष्ठले आफ्नो सम्पूण सम्पत्ति प्रतिष्ठानमा राख्ने घोषणा गरेका छन्।

विद्यालयको १४ औँ वार्षिकोत्सवको अवसरमा वेद कुमार श्रेष्ठ र उनकी श्रीमती सीतादेवी श्रेष्ठ र सृजना श्रेष्ठको नाममा रहेको सम्पूर्ण सम्पत्ति बुवा सागर स्मृति प्रतिष्ठानमा हस्तान्तरण गरेका हुन्।

‘हामीसँग भएको सम्पूर्ण सम्पत्ति राजीखुशीले नै प्रतिष्ठानको नाममा हस्तान्तरण गरेका छौ’ विद्यालयका संस्थापक समेत रहेका वेदकुमारले भने, ‘म र मेरो परिवारको नाममा रहेको जग्गाधनी प्रमाण पुर्जामा कायम रहेको सम्पूर्ण जायजेथा प्रतिष्ठानलाई भोग चलन तथा विक्री वितरण गरी प्रतिष्ठानको कोष खडा गर्नको लागि प्रतिष्ठान सञ्चालक समिति, संरक्षक समिति, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदकाधिकारी, निर्देशक र सम्बन्धित वडा अध्यक्षको रोहवरमा प्रतिष्ठानलाई प्रदान गरेको छु।’

सम्पूर्ण सम्पत्ति बेचबिखन गरेर आएको रकममध्ये आफ्ना २ श्रीमतीलाई समान २५/२५ लाख राखिदिन र वाकी रकम प्रतिष्ठानकै अक्षय कोषमा राखिदिने व्यवस्था मिलाउन श्रेष्ठले आग्रह गरे।

उक्त अक्षयकोषको ब्याजबाट प्रतिष्ठानद्धार सञ्चालीत सागर मेमोरियल बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो चाहान रहेको वेदप्रसादले सुनाए।

‘एउट यस्तो आमो थियो एउट यस्तो बाउ थियो जो बाउ जो आमा आफ्नो छोराका निम्ति यो समाजका बालबालिकाका लागि आफ्नो सम्पत्ती दान गरेको छ। यो सम्पत्तीलाई हामीले जोगाउन पर्दछ। यसलाई स्तर उन्नती गर्नुपर्दछ। यसलाई स्यहार सुसार गर्नुपर्दछ भनेर सोचदिनुहोस’, भावुक हुँदै उनले भने।

अक्षयकोषको व्याजबाट आएको रकम मध्ये ५० प्रतिशत मुल धनमा नै गाभिने र बाँकी ५० प्रतिशत विद्यालय सञ्चलनका लागि ३/३ महिना प्रदान गरिने व्यवस्था मिलाईने उनले जानकारी दिए।

उनले माछापुच्छ्रे गाउँपालिका वडा नं.३ घाचोकका सूर्यप्रसाद लम्साल, वडा नं.१ टुसेका वीरेन्द्र गुरुङ, वडा नं.१ की जमुना पुन, वडा नं.३ घाचोकका पदम नेपाली, वडा नं.३ घाचोकका रविलाल पोख्रेल, रनबहादुर कार्की, शुशिल जिसीको रोहवरमा २०८० साल भदौमा आफ्नो सम्पूर्ण जाहेजेथा प्रतिष्ठानको नाममा बुझाउने स्वोघोषणा गरेका थिए।

उक्त स्वोघोषण अनुसार आफ्नो सबै सम्पत्ति विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन्। माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ छोराप्रतिका साँचो माया वेदसरले देखाएको बताए।

‘आफ्ना आमा वावुले छोराप्रति देखाएको यो माया समाजमा उदाहरण रहेको छ’ अध्यक्ष गुरुङले भने, ‘सागरलाई जिवन्त राख्न परिवारले गरेको यो कार्यक्रममा पालिकाको तर्फबाट पनि सधैँ सहयोग र सद्भाव रहने छ।’

विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र लम्साल, विद्यालयका प्रिन्सिपल रुद्र रानाभाट, शिक्षक अभिभाव संघका अध्यक्ष देवेन्द्र हमाल, नेवा खल घाचोकका अध्यक्ष भिममान श्रेष्ठ, भूपू गोर्खा सैनिकका अध्यक्ष हरी श्रेष्ठ, संगम इंगलिस स्कुलका संस्थापक गगनसिंह गुरुङ, मेघराज आधारभूत विद्यालयका प्रध्यानाध्यापक विश्वमोहन पोख्रेल, समाजसेवी रविलाल पोख्रेल विद्यार्थी जेनिशा रानाभाटले प्रतिष्ठानका गतिविधिलाई प्रभावकारी बनाउने जिम्मा अब समाजकै भएको बताएका थिए।

कमेन्ट गर्नुहोस्
Share: