
पोखरा । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात भएको हो।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए।
हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए।
हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका-९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए।
हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान भने हर्षित भएका छन्। गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन। वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्तीको भनाइ छ।

