पशुपतिनाथ क्षेत्रमा एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै, कहाँ-कहाँ छ पार्किङ सुविधा ?

233
0
Share:

काठमाडौँ। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुन सक्ने सुरक्षा चुनौती विश्लेषण गरेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना बनाएको छ। फागुन १४ मा शिवरात्रि पर्व मनाइँदै छ। फागुन १३ बाट नै प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको हो।

काठमाडौँको पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षा कमाण्ड गर्नेछन्। एसपीको कमाण्डमा मंगलबारदेखि नै प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए। उनले भने,‘पशुपति क्षेत्रमा ४ हजार २ सयभन्दा बढी प्रहरी परिचाल गर्ने गरी सुरक्षा योजना लागु गरेका छौँ।’

सुरक्षा व्यवस्थापन चुस्त बनाउन प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा कमाण्ड पोस्ट तयार गरेको छ। कमाण्ड पोस्टबाट एसपी बोहरासहित, ३ जना डीएसपी र ४ जना इन्स्पेक्टरले मनिटर गर्नेछन्। चोरी, डकैती र झडपका घटना रोक्न डीएसपीको नेतृत्वमा ४० जना सादा पोसाकका प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको छ। शिवरात्रि अवधिभर ३ सिफ्टमा प्रहरी परिचालिन हुनेछन्। चारवटा वाकथ्रु गेटमा प्राविधिक सहितका सुरक्षाकर्मी खटिने छन्।

प्रहरीले सुरक्षाको लागी मेटल डिटेक्टर र ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, ‘अवाञ्छित गतिविधि रोक्न ड्रोनबाट निगरानी गर्छौँ ।’

अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा ७ जना डीएसपीलाई शिवरात्रि अवधिभर परिचालन गर्ने सुरक्षा योजना उपत्यका प्रहरी कार्यालयले स्वीकृत गरेको छ। मेला अवधिभर ८९ जना इन्स्पेक्टर परिचालिन हुनेछन्।

ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?

शिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिक व्यवस्थापनको कमाण्ड पनि एसपीले नै गर्ने भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जय राउतले ट्राफिक व्यवस्थापनको कमाण्ड गर्ने उपत्यका प्रहरी कार्यालयका एसएसपी खनालले जानकारी दिए।

उनले भने, ‘ट्राफिक व्यवस्थापनको कमाण्ड पनि एसपीले नै गर्ने गरी सुरक्षा योजना लागु गरेका छौँ।’ ट्राफिक व्यवस्थापनमा ८ सय ९० प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ। काठमाडौँ प्रहरीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रको गतिविधि लाइभ गर्ने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्,‘पशुपतिनाथ क्षेत्रको गतिविधि हाम्रो कार्यालयको फेसबुक पेजबाट लाइभ गर्नेछौँ।’

सशस्त्र सुरक्षाकर्मी पनि खटिने

महाशिवरात्रिमा हुनसक्ने सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई पनि परिचालन गर्ने निर्णय गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी बलका १ हजार २ सय जना सुरक्षाकर्मी खटिने भएका छन्। राष्ट्रिय अनुसन्धान विभागका १५० जना सुरक्षाकर्मी सूचना संकलनका लागी परिचालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका बताएको छ।

कमेन्ट गर्नुहोस्
Share: