पशुपति क्षेत्रमा बढ्यो जोगी र साधुसन्तहरुको चहलपल

334
0
Share:

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल ह्वातै बढेको छ।

महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम बढेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।

सोमबार बेलुकासम्म साधुसन्त पशुपति क्षेत्रमा आउनेक्रम जारी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ।

त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ। सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध गरेको छ भने पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ।

शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ।

पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भोजन र धुनीको व्यवस्था मिलाइएको साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमितिका संयोजक डा. भरतप्रसाद बडालले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: