
पोखरा । महाशिवरात्री नजिकिदैँँ गर्दा पोखरा महानगरपालिका वडा नं. ३२ खुदीखोलाका सुकुम्बासी समुदायले शिव मन्दिरको उद्घाटन गरेका छन्। मंगलबार पोखरा महानगरपालिका वडा नं. ३२ का प्रमुखको अनुपस्थितमा वडा सदस्य तथा प्रमुख अतिथि शोभा विकले रिबन काटेर शिव मन्दिरको विधिवत उद्घाटन गर्दै सुकुम्बासी टोलको भौतिक पुर्वाधारका आगामी योजना सम्पन्न गर्नका लागि थप बजेट उपलब्ध गराउने बताइन्। साथै शिव मन्दिरलाई थप व्यवस्थित बनाउन वडा आर्थिक रुपमा तत्पर रहेको समेत बताइन्।
दुर्गा आमा समुहकी उपाध्यक्ष कमलामाया परियारको अध्यक्षतामा संचालित कार्यक्रममा आराधना टोल विकास संस्थाका अध्यक्ष भुपेन्द्र राना मास्की मगरले खुदिखोलामा रहेका विभिन्न टोलका सुकुम्बासीलाई वडाले बेवास्ता गरेको गुनासो गरे।
अध्यक्ष मास्कीले चुनावको बेलामा मात्र सुकुम्बासीसँग भोट माग्न आउने जनप्रतिनिधिहरुलाई आगामि दिनमा टोलबाटै बहिष्कार गर्ने समेत बताए। उनले सुकुम्बासीका समस्या खानेपानी लगायत विद्यालयमा शिक्षक समेत अभाव रहेको बताए।
करिब ७ लाखमा निर्माण सम्पन्न शिव मन्दिर भुकम्पले गर्दा जिर्ण अवस्था थियो पछि स्थानीय वडाको ४ लाख बजेबाट बाँकी स्थानीय चन्दा र श्रमदानबाट निर्माण सम्पन्न भएको आराधना टोल संस्थाका सचिव राजु परियारले बताए।
सचिव परियारले सुकुम्बासीका दुख बुझ्ने जनप्रतिनिधि आवश्यक रहेको बताए। अस्थायी प्रहरी चौकि राज चौताराका प्रतिनिधि हेम बहादुर क्षेत्रीले खुदिखोला सुकुम्बासी टोलको शान्ति सुरक्षा लगायत कुरा ध्यान दिने बताउँदै मन्दिर निर्माणले आफु खुशी भएको बताए।
खुदिखोला युवा क्लबका अध्यक्ष केस बहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सिता आधारभुत विद्यालयका अविभावक संघका अध्यक्ष राजन कुमार गुरुङले विद्यालय अहिले शिक्षक अभाव हुँदा समेत जनप्रतिनिधिहरुबाट कुनै पहल नभएको र विद्यालय सुधारमा जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताए।
दुर्गा आमा समुह सचिव हुम कुमारी श्रेष्ठले सचालन गरेको कार्यक्रममा सल्लाहकार जन बहादुर घले, गगनगौडा बजार व्यवस्थापनका अध्यक्ष भवानी प्रसाद पौडेल, अतिथि मिलन लामा, खुदिखोला खानेपानी तथा सरसफाइ उपोभोक्त समितिका अध्यक्ष हरि बहादुर गुरुङ, दारिमबोट टोल विकास सस्थाको अध्यक्ष हिरालाल विक, समान्तर महिला बचत समुहका अध्यक्ष तिल कुमारी गुरुङ ,सुनौलो दलित समाजका अध्यक्ष सुल बहादुर परियार, आराधना मगर समाजका अध्यक्ष बसुन्धरा थापा मगर, आराधना तमु समाजका अध्यक्ष सुकबहादुर गुरुङ, हिमालय टोल विकास संस्थाका सचिव विस्नु गुरुङ, दुर्गा आमा समुहका वरिष्ठ सल्लाहकार सावित्री गुरुङ, मन्दिर निर्माण सहयोगी सुक बहादुर गुरुङ लगायतको उपस्थित रहेको थियो।
