रास्वपा सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान, शुक्रबार स्वदेश फर्किने

148
0
Share:

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा सहभागी हुन रास्वपा सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान गरेका छिन्। क्षेत्रीयस्तरको यूएन युथ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गौतम मंगलबार बैंकक प्रस्थान गरेकी हुन्।

बैंककस्थित राष्ट्रसंघको क्षेत्रीय कन्फरेन्स हलमा तीन दिने (२६, २७, २८ फ्रेबअरी) रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग हुँदैछ। यो कार्यक्रममा नेपालको संसद्बाट गौतमले प्रतिनिधित्व गरेकी हुन्।

कार्यक्रममा नेपालबाट अन्य क्षेत्रका युवा प्रतिनिधिहरू पनि सहभागी छन्। सम्मेलनमा सांसद गौतमले बुधबार मलेसिया र इण्डोनेसियाका प्रतिनिधिसहित जलवायु परिवर्तन, क्लामेट पोलिसीका सन्दर्भमा नेपालका तर्फबाट बोल्ने कार्यक्रम छ।

‘एसियाको क्लाइमेट इस्यू सबैतिर उस्तै छ। हामीले यसअगाडि भर्चुअल रूपमा आ-आफ्नो देशले के कस्तो गरिरहेको छ भनेर छलफल गरिरहेका थियौं,’ सांसद गौतमले भनिन्, ‘अहिले चाहिँ सम्मेलनमै उपस्थित भएर जलवायु परिवर्तनको असर, रोकथामका लागि भइरहेको प्रयास र नवीन आइडियाहरू आदानप्रदान गर्नेछौं।’

यसले सबै देशका प्रतिनिधिलाई सिकाइ र सामूहिक प्रयास थप मजबुत हुने सांसद गौतमको विश्वास छ। कार्यक्रममा चाइना, फिलिपिन्स, मलेसिया, इण्डोनेसिया, श्रीलंका, सिंगापुर, नेपाल, हङकङ, भारत, भुटानलगायत १२ देशका युवा प्रतिनिधि सहभागी छन्। गौतम शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: