सराङकोट महाउत्सवको पहिलो दिन आज ४५ लाखभन्दा बढी संकलन

334
0
Share:

पोखरा। सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ। आजदेखि २१ फागुनसम्म जारी रहने उक्त उत्सवअन्तर्गत बुधबार पूर्वाङ्गसहित महायज्ञ शुभारम्भ भयो।

त्यसपूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धित सरुन खेलसहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्यासहित कलश यात्रा सुरु भएको थियो। उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मूल समारोहमा परिणत भयो।

पहिलो दिन अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङबाट २५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट १५ लाख, खिमबहादुर जिसीको परिवारबाट २ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए।

उद्घाटन समारोहमा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले सराङकोट धार्मिक पर्यटकीयस्थल अलावा शक्तिपीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाउँदै सत्कर्ममा सहयोग गर्न पाउँदा खुशी लागेको बताए। उनले आफूले धार्मिक संघसंस्थामा सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै सराङकोट वास्तवमै स्वर्गको टुक्रा भएको अनुभव सुनाए।

महायज्ञका मुख्य वाचक भागवत्भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिँदै सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पारे । उनले सराङकोट धामको वृद्धि विकासमा लागि योसहित ६ यज्ञ गरिएको स्मरण गर्दै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महसुस हुने गरेको औँल्याए ।

पोखरा महानगरपालिका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले महाउत्सव समग्र पोखरेलीकै चाड भएको उल्लेख गरे। उनले पोखरा कोटैकोटको शहरका रुपमा स्थापित हुँदै गएकोमा खुशी व्यक्त गर्दै सराङकोटको स्तरोन्नतिमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले उत्सव समग्र पोखरेलीको चाड भएको बताउँदै सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्ने जनाए। २०६१ सालदेखि सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति गठनपश्चात गुरुयोजना निर्माण गरी अनवरत सहयोग जुटाउँदै त्यहाँ निर्माण कार्य गरिएको स्पष्ट पारे।

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्दै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गरे। उद्घाटनका दिन यज्ञस्थल पुग्ने सम्पूर्ण भक्तजनका लागि केबलकार तथा बसमा निःशुल्क यात्राको व्यवस्था मिलाइएको थियो। त्यस्तै यज्ञमा मातृशक्तिको बाक्लो उपस्थिति देखिन्थ्यो।

यही १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मूर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रमसमेत छ। यज्ञ अवधिभर स्थानीय चक्रबहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्ने छन्।

सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन्। ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ।

महाउत्सवका अवसरमा सामूहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रहशान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजनकीर्तन गरिनेछ। सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ। समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महाउत्सवका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: