
पोखरा । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कपको उपाधिको लागि विनोद मेमोरियल र मिक्की एफ सी भिड्ने भएका छन्।
बुधबार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० को अन्तरलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो।
खेलको ५औं मिनेटमा विनोद मेमोरियलका रोशन छन्त्यालले डिबक्स भित्रबाट गरेको प्रहार नै गोलमा परिणत भएको थियो। यही १ मात्र गोल नै मेमोरियललाई फाईनलमा पुग्न निर्णायक बनेको थियो।
यस्तै बुधबार नै सम्पन्न दोश्रो सेमीफाईनलमा मिक्की एफ सीले एन के क्लवलाई २–० को अन्तरले पराजित गर्दै फाईनलमा विनोद मेमोरियलसँगको भेट पक्का गरेको छ। खेलको पहिलो हाफको ८औं मिनेटमा मिक्की एफ सि का विनम गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछिको समयमा दुवै टिमले गोल गर्ने राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेका थिएनन्। खेलको अन्तिम मिनेटमा मिक्की एप सी कै रोशन गुरुङले दोश्रो गोल थप्न सफल भएका थिए।
एन के का गोलकिपर पोष्ट छाडेर मैदानको मध्य भागमा रहेको मौकाको राम्रो सदुपयोग गर्दै रोशनले दोश्रो गोल थपेका थिए । गोल हुनबाट जोगाउन एन के का नकुल तामाङले प्रयास गरेपनि उनी असफल भएका थिए।
प्रतियोगिताको उपाधिका लागी फाईनल खेल बिहिबार दिउँसो १ बजे हुनेछ। समापन समारोहमा राष्ट्रि फुटवल टिमका कप्तान किरण चेमजोङ समेत सहभागी हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा अनुशासित टिमले रु ८ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५/५ हजार प्राप्त गर्नेछन् ।
