
काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा गोली प्रहार गरेर युवकको हत्यापछि भरुवा बन्दुकसहित भागेका ४५ वर्षीय कर्णबहादुर विष्ट अझै पक्राउ पर्न सकेका छैनन्। घटना भएको चारदिन बितिसक्दा पनि प्रहरीले उनलाई समात्न नसकेको हो।
गत शनिबार राती दोगडाकेदार गाउँपालिका–८ चौसिला बजारमा स्थानीय २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरि हत्या भएको थियो। विष्टको हत्यापछि कर्णबहादुर बन्दुकसहित फरार थिए।
स्थानीयका अनुसार उनी घटनापछि जंगलतर्फ भागेका थिए। घटनाको तीन दिनसम्म घटनास्थल नजिकैको जंगल केन्द्रीत भएर खोजी गरेको प्रहरीले कर्णबहादुरलाई अझै भेटाउन सकेको छैन।
हत्या गरेर हतियारसहित कर्णबहादुर भागेपछि गाउँमा शोकसँगै त्रास पनि छ। बैतडी प्रहरीले प्राविधिक पाटोसमेत केलाएर कर्णबहादुरको खोजी गरिरहेको जनाएको छ।
कर्णबहादुरले मोबाइलमा तिन/चार वटा सीम प्रयोग गर्ने हुनाले लोकेशन ट्रयास गरेर खोजी गर्न कठिनाइ भइरहेको स्रोतले बतायो। ‘प्राप्त जानकारी अनुसार उनले दुई/तीनवटा सीम प्रयोग गर्ने रहेछन्। पुरानो सीम अहिले स्वीच अफ छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामीलाई नयाँ नम्बरको सूचना आएको छ। त्यसको प्राविधिक पाटो हेरेर खोजीमा छौँ।’
प्रहरीलाई प्राप्त सूचना अनुसार उनले विभिन्न सेवा प्रदायक संस्थाका धेरै सीम कार्ड प्रयोग गरेका छन्। पुरानो सीम घटनास्थल नजिकै ‘लोकेट’ भएपछि सोही नजिकैको जंगलमा केही दिन ठूलो संख्यामा प्रहरी परिचालन गरेर ‘सर्च अप्रेसन’ गरिएको थियो।
तर उक्त सीम कार्ड हाल भने प्रयोगमा आएको छैन। जिल्ला प्रहरी कार्यालयले गोली प्रहार गरेर भरुवा बन्दुकसहित फरार रहेका कर्णबहाुरको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। भारत तथा जिल्ला बाहिर निस्किने नाकामा पनि निगरानी बढाइएको छ।
अपराधमा संलग्न व्यक्तिलाई पाँच दिनसम्म पनि समात्न नसक्नु प्रहरीको लापरबाही रहेको मृतकका आफन्त राजेन्द्र विष्टले बताए। गाउँको बीचमा यति ठुलो घटना हुँदा समेत जिल्लाको प्रहरी प्रशासनको नेतृत्व घटनास्थल पुगेको छैन।
उनले भने, ‘घटनाभएको पाँच दिनसम्म गम्भीर अपराधमा संलग्नलाई प्रहरीले समात्न सकेको छैन्। यसमा प्रहरी प्रशासन चुकेको छ। गम्भीर भएर घटनामा संलग्नलाई समात्नुपर्छ।’
मृतकका आफन्तले तालिम प्राप्त कुकुरसहित प्रहरीको विषेश टोली समेत परिचालन गर्न माग गरेको छ। यता प्रहरीले भने घटनामा संलग्न कर्ण बहादुरको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको दाबी गर्दै आएको छ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले हतियारसहित प्रहरी टोली परिचालित रहेको बताए। उनले भने, ‘सादा पोसाक र हतियार सहित प्रहरी परिचालन गरेका छौं। घटना भएलगत्तै आसपासका सबै नाका सिल गरेर कर्णबहादुरको मोबाइल लोकेशन र जनसम्पर्कको आधारमा खोजी गरिरहेका छौं।’
भारततर्फ फरार हुन सक्ने भन्दै सीमानाकामा समेत कर्ण बहादुरको हुलियासहित परिपत्र गरिएको छ। यसका साथै मोबाइल लोकेशन र जनसम्पर्कको आधारमा खोजी भइरहेको उनको भनाइ छ।
उनले भने, ‘शनिबार घटनाको केहिबेरसम्म मोबाईलको लोकेशन कालागाउँ आसपास देखिएको छ। त्यसपछि मोबाईल अफ रहेको र अहिले लोकेशन भेट्टिएको छैन्।’
यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी मकेन्द्र मिश्रलाई सम्पर्क गर्दा उनी बिजी रहेको बताइन्छ। बुधबार दिनभर कल गर्दा उनको कल उठ्ने, तर उनको बडीगाड हुँ, सर अहिले कार्यक्रममा छन् भन्दै कल डिस्कनेक्ट गरिरहेको जनाइएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश डिआइजी गणेश चन्दले पनि आफू बैतडी पुगेको बताएका छन् । उनले प्रहरी टोली दिनरात कटिरहेको बताउँदै अपराधिलाई आफूहरुले जसरी पनि पक्राउ गरेरै छोड्ने उनको दाबी गरे ।
उनले भने, ‘बैतडी पुगेर मैले सबै सजेसन दिइसकेको छु। अपराधि छिट्टै प्रकाउ पर्छ। यदि भारत भागेको सही हो भने इन्टरपोलमार्फत भए पनि त्यसलाई लिएरै छोड्ने छौं।’
कर्णबहादुर यसअघि पनि जंगली जनावरको शिकारमा संलग्न रहेका स्थानीयले बताएका छन्। प्रहरीका अनुसार उनले हतियार लिएर जंगलमा बसेर शिकार गर्दै आएका थिए। वनजन्तु सम्बन्धि अपराधमा कारवाही प्रक्रिया पूरा गरेर कर्णबहादुर अदालतबाट छुटेका थिए।
उनले नै गत शनिबार बेलुकी ८ बजे लेनदेनको विवादमा भाइ नाता पर्ने सुरेन्द्रलाई गोली प्रहार गरेका थिए। जीप चालकसमेत रहेका विष्टको उपचारका लागि अस्पताल लैजाने क्रममा शनिबार राति मृत्यु भएको थियो।
