
पोखरा। लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर गैहपाटनमा सोमबारदेखि खेदकूद प्रतियोगिता सुरु भएको छ। तीनदिनसम्म आयोजना हुने प्रतियोगितामा लेकसिटीमा अध्ययनरत विद्यार्थीहरुवीच विभिन्न खेलमा प्रतिष्पर्धा हुने कलेजले जनाएको छ।
प्रतियोगितामा टेवल टेनिस, बास्केटबल र फुटसल खेल समावेश गरिएको कलेजले जानकारी दिएको छ। जसअन्तर्गत छात्र/छात्राको भिन्न भिन्नै खेलहरु हुनेछ। उनीहरुले प्रतियोगितामा एकल, जोडी र समूहमा प्रतिष्पर्धा गर्नेछन्।
सोमबार कलेज परिसरमा बास्केटबल र टेवलटेनिस प्रतियोगिताका प्रारम्भिक चरणका खेलहरु आयोजना गरिएको छ। छात्र तथा छात्रा बास्केटबल र टेवलटेनिस प्रतियोगितामा विधार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
मंगलबार फुटसल खेल आयोजना हुनेछ। बास्केटबल र टेवलटेनिसका सेमिफाइन र फाइन खेल पनि दोस्रो दिन आयोजना गरिने बताइएको छ। सो अवसरमा क्याम्पस प्रमूख नारायण श्रेष्ठ, सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देल, शिक्षकहरु र विधार्थीहरुले सहभागी खेलाडीलाई हौसला प्रदान गरेका थिए।
कलेजका शिक्षक तथा प्रतियोगिता संयोजक सुशन थापाले खेलहरु सञ्चालन गरे। वार्षिक कार्यक्रम अन्तर्गत खेलकूद प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमूख श्रेष्ठले जानकारी दिए।प्रतियोगितामा विधार्थीको सहभागिता उत्साहजनक रहेकोले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई कलेजले निरन्तरता दिने उनको भनाइ छ। प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिन्छ।
खेलकूदको माध्यमबाट विद्यार्थीहरुवीच आपसी मित्रता अभिवृद्धि गराउने उद्देश्य प्रतियोगिता आयोजना गरिएको संयोजक थापाले बताए। कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विधार्थीहरुलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ। रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ।
लेकसिटीमा रहेको सामाजिक विज्ञान केन्द्रले मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ। त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो। कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य पठनपाठन हुन्छ। हाल कलेजमा ३ सय ५० विद्यार्थी छन्।
