चाड बन्यो सन् २०२४ कै सर्वाधिक प्रदूषित देश, नेपाल सातौँ नम्बरमा

418
0
Share:

काठमाडौँ । हावाको गुणस्तर अनुगमन गर्ने स्विट्जरल्यान्डस्थित ‘आइक्यू एअर’ ले ‘विश्व वायु गुणस्तर प्रतिवेदन-२०२४’ सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चाड सन् २०२४ कै सबैभन्दा बढी प्रदूषित मुलुक बनेको छ। उक्त सूचीको सातौँ नम्बरमा नेपाल परेको छ।

नेपालमा डढेलो लाग्ने, कृषि अवशेष जलाउने, इँटा भट्टाबाट निस्काने धुवाँ, सवारी साधनका धुवाँ लगायतका कारण प्रदूषण बढ्ने गरेको छ। उक्त प्रतिवेदन अनुसार सहरका हिसाबले भारतको राजधानी नयाँ दिल्ली विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ।

यो सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ आठौँ स्थानमा छ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु स्वास्थ्यकर मानिन्छ। एक्यूआई १०१ देखि १५० सम्मको वायु अस्वास्थ्यकर हुन्छ।

यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वास्थ्यकर’ र त्योभन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ। प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको औसत एक्यूआई ११९ छ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ। डब्लुएचओको मापदण्डअनुसार पीएम-२.५ (रौँभन्दा तीन गुणा मसिना धुलो–धुवाँका कण) को मात्रा वार्षिक पाँच माइक्रोग्राम प्रतिघनमिटर नाघ्दा प्रदूषित मानिन्छ।

यसले साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ। यी कण वायुमण्डलमा मिसिएर प्रदूषित हुन्छ । सो प्रतिवेदनमा नेपालको हावामा धुलो/धुवाँकोे कण पीएम–२.५ सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ। यसले धुलोधुवाँका मसिना कण नाक र मुखबाट सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

यस्तै, काठमाडौँको पीएम-२.५ सरदरमा ४५.१ माइक्रोग्राम प्रतिघनमिटर रहेको प्रतिवेदनमा उल्लेख छ। नेपाल लगायत विश्वका दश देशमा वायु गुणस्तर सबैभन्दा बढी खराब भएको सो प्रतिवेदनमा जनाइएको छ।

वायु गुणस्तर विज्ञ डा. भुपेन्द्र दास वायु प्रदूषणले स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताउँछन् । ‘गुणस्तरीय हावा भएको ठाउँ नेपालमा भेट्न मुस्किल नै छ,’ उनले भने, ‘सबै ठाउँमा प्रदूषण फैलिएको छ । यसको बाउन्ड्री त छैन ।’

नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषणको जोखिम हुने गरेको छ। नोभेम्बरदेखि अप्रिलसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ। नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने डा. दासको भनाइ छ। यसले पनि वायु प्रदूषण बढाउने उनले बताए। यसका साथै, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले वायु प्रदूषण हुने डा. दासले जानकारी दिए। उनले वायु प्रदूषणको गुणस्तरसँग सम्बन्धित कार्ययोजना राजधानी केन्द्रितमात्रै नभइ स्थानीय तहसँगै समन्वय गर्नुपर्ने सुझाव दिए।

‘काठमाडौँमा मात्रै वायु प्रदूषणको सचेतना वा कार्यक्रम गरेर परिवर्तन हुँदैन,’ उनले भने, ‘गाउँघरमा पनि बुझाउनु पर्छ, सिकाउनुपर्छ। तराईमा गोठमा लामखुट्टे भगाउनका लागि पराल जलाउँछन्। कृषि अवशेष जलाउने काम पनि उत्तिकै हुन्छ। यस्ता गतिविधिले प्रदूषण बढाउन मद्दत गर्छ।’ पालिकास्तरमै वायु प्रदूषणबारे सचेतना फैलाउनु पर्ने डा. दासको सुझाव छ।

वायु प्रदूषित १० मुलुक

स्वच्छ हावा हुनका लागि हावामा धुलो–धुवाँकोे कण पीएम–२.५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा कम हुनु पर्छ । तर सो प्रतिवेदनमा विश्वका १३५ मुलुकको हावा धुलो–धुवाँकोे कण पीएम–२.५ माइक्रोग्राम प्रतिघनमिटर भन्दा धेरै रहेको देखाएको छ । त्यसमध्ये पनि नेपालसहित चाड, बंगलादेश, पाकिस्तान, कङ्गो, भारत लगायतका १० मुलुकको हावा अति प्रदूषित छ ।

प्रदूषणको मात्रा धेरै भएका शीर्ष १० मुलुकमा अफ्रिकी र दक्षिण–मध्य एसियाली मुलुक छन्  । अफ्रिकी मुलुक चाडको वायु प्रदूषणको मात्रा वार्षिक ९१.८ माइक्रोग्राम प्रतिघनमिटर छ । यो सूचीको दोस्रो नम्बरमा बंगलादेश छ । यहाँको वायु प्रदूषणको मात्रा वार्षिक ७८ माइक्रोग्राम प्रतिघनमिटर छ।

यस्तै, तेस्रोमा पाकिस्तानमा छ। यहाँको वायु प्रदूषणको मात्रा वार्षिक ७३.७ माइक्रोग्राम प्रतिघनमिटर छ। सूचीको चौथोमा कङ्गो, पाँचौँमा भारत र छैटौँमा ताजकिस्तान छन्। यी मुलुकको वायु प्रदूषणको मात्रा वार्षिक क्रमशः ५८.२, ५०.६ र ४६.३ माइक्रोग्राम प्रतिघनमिटर छ।

सातौँमा नेपाल छ। नेपालको वायु प्रदूषणको मात्रा वार्षिक ४२.८ माइक्रोग्राम प्रतिघनमिटर छ। आठौँमा रहेको युगान्डाको वायु प्रदूषणको मात्रा वार्षिक ४१ माइक्रोग्राम प्रतिघनमिटर छ। यस्तै नवौँमा रुवान्डा छ। यहाँको वायु प्रदूषणको मात्रा वार्षिक ४०.८ प्रतिघनमिटर रहेको प्रतिवेदनमा उल्लेख छ। दशौँ नम्बरमा रहेको बुरुन्डीमा वायु प्रदूषणको मात्रा वार्षिक ४०.३ माइक्रोग्राम प्रतिघनमिटर रहेको प्रतिवेदनमा जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: