
पोखरा। पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा रहेको जानकी माध्यामिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ। धार्मिक क्षेत्रको आम्दानीबाट सो समितिले विद्यालयलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो।
चैतको ७ गतेदेखि सञ्चालन हुन गैरहेको एसईई परिक्षालाई व्यवस्थित र मर्यादित वनाउने उदेश्यका साथ विद्यालयमा आयोजित स्थानीय संघसंस्था, सल्लाहकारसहितको बैठकमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङलाई हस्तान्तरण गरेका हुन्।
मन्दिर व्यवस्थापन समितिले गत माघे सक्रान्ति ढुङ्गेसाघु मेलाका अवसरमा भएको आम्दानीबाट केही रकम छुट्याएर विद्यालयलाई सहयोग गरिएको सो अवसरमा जानकारी दिइयो। मन्दिरले व्यापार व्यवस्थापन र भक्तजनबाट गरि चारलाख भन्दा बढी आम्दानी गरेको अध्यक्ष शर्माले जानकारी दिए।
सामुदायिक विद्यालय भौतिकरुपमा सम्पन्न भएपनि प्रशासनिक एवम् आन्तरिक खर्च व्यवस्थापन विभिन्न संघसंस्था तथा शिक्षाप्रेमी व्यक्तिहरुको सहयोग महत्वपूर्ण रहदै आएको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए।
विद्यालयमा हाल लगभग चारसय विद्यार्थी अध्ययनरत छन्। चार सामुदायिक र छ संस्थागत गरी १० वटा विद्यालयको एसईई परिक्षा केन्द्र रहेको जानकी माविको परिक्षालाई व्यवस्थित, भय रहित र मर्यादित बनाउन बैठकले सामुहिक प्रतिवद्धता जाहेर गरेको छ।
