
काठमाडौँ। एप्पलले आगामी सेप्टेम्बरमा अहिलेसम्मकै पातलो आईफोन ल्याउने तयारी गरेको छ। सम्भावित नाम ‘आईफोन १७ एयर’ हुने यस मोडेलमा कुनै पनि पोर्ट नहुने चर्चा थियो। अर्थात् यसमा चार्ज गर्ने ठाउँ पनि नहुने भनिएको थियो।
पोर्ट फ्री फोन कस्तो होला भन्ने चर्चा चलिरहँदा हालैको एक खबरले भने तत्काल यस्तो फिचरयुक्त आईफोन नआउने संकेत गरेको छ। ब्लुम्बर्गको हालैको एक रिपोर्टअनुसार युरोपेली संघ (ईयू) का नियमहरूले एप्पललाई यूएसबी स्ट्यान्डर्ड अपनाउन बाध्य पारेपछि हालका लागि यो योजना रोकिएको हो।
ईयूको नियम अनुसार फोनमा यूएसबी-सी पोर्ट हुनैपर्छ। प्रयोगकर्तालाई पनि चार्ज गर्ने पोर्ट नहुँदा समस्या हुनसक्ने भएकाले एप्पलले अहिलेलाई यो योजना स्थगित गरेको ब्लुम्बर्ग रिपोर्टमा उल्लेख छ।
विश्लेषकहरूका अनुसार ‘आईफोन १७ एयर’ एप्पलका लागि ठूलो परिवर्तनको सुरुवात हुनेछ। अल्ट्रा थिन डिजाइनमा आउने यस मोडेलमा डाइनामिक आइल्याण्ड भएको ६.६ इन्चको डिस्प्ले, क्यामेरा कन्ट्रोल बटन, एउटा रियर क्यामेरा, ई-सिम सपोर्ट, पछिल्ला आईफोनहरूको जस्तै ब्याट्री लाइफ लगायतका फिचर हुने चर्चा छ। भविष्यमा एप्पलले पोर्ट बिनाको फोन ल्याए यो पूर्ण रूपमा वायरलेस चार्जिङमा निर्भर हुनेछ।
