
पोखरा। इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश धामी विजयी भएका हुन्।
बुधबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार धामीले निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका अनुप न्यौपानेलाई २ सय ६७ मतले पराजित गरे। धामीले ७ सय १६ मत पाउँदा न्यौपानेले ४ सय ४९ मत पाए। नेविसंघका सौगात पण्डितले ३ सय ४६, अखिल (क्रान्तिकारी)का आदर्श महत क्षेत्रीले १ सय ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपक थापाले जानकारी दिए।
दार्चुलाका धामी नेत्रविक्रम चन्द विप्लव निकट अखिल (समाजवादी)समर्थित उम्मेदवार हुन्। उनको पृष्ठभूमि अखिल (क्रान्तिकारी) हो। धामी क्रान्तिकारीको क्याम्पस कमिटी सचिव थिए । अध्यक्ष हुन नपाएपछि उनले क्रान्तिकारी छोडेर अखिल (समाजवादी) रोजेका थिए।
सचिव र कोषाध्यक्ष अखिल (क्रान्तिकारी) ले जितेको छ। अखिल (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मत ल्याएर सचिव निर्वाचित भए। अनेरास्ववियुका विनायक भुँवाजीले ७ सय ४ मत ल्याए। आन्तरिक विवादले मतपत्र च्यातिँदा सचिवमा नेविसंघको उम्मेदवारी खारेज भएको थियो।
क्रान्तिकारीका सशीष सापकोटा ६ सय ९९ मत ल्याएर कोषाध्यक्ष निर्वाचत भए। अनेरास्ववियुका रोहितकुमार साहले ५ सय ८७, नेविसंघकी रस्मिताकुमारी झाले ३ सय ६६ मत पाएको निर्वाचन अधिकृत थापाले जानकारी दिए।
