‘ब्रेकअप’ पछि पूर्व प्रेमिकाका गोप्य फोटो/भिडिओ आफन्तलाई पठाइदिने युवक पक्राउ

231
0
Share:

काठमाडौँ। सामाजिक सञ्जालमार्फत नेपाली युवतीको चरित्रहत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ पर्नेमा बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मङ्गलबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार पीडित युवती र रायको चिनजान कामको सिलसिलामा भएको थियो। त्यसपछि उनीहरू फेसबुकमा साथी बने।

कुराकानी गर्दै जाँदा उनीहरूबिच प्रेम सम्बन्ध स्थापित भयो। त्यसपछि निरन्तर भेटघाट हुन थाल्यो।पीडित युवतीले ब्युरोलाई भने अनुसार भेटघाटका क्रममा राय युवतीको अन्तरङ्ग सम्बन्धका क्रियाकलापको गोप्य फोटो र भिडिओ खिच्थे। पछि उनीहरूबिचको सम्बन्ध बिग्रियो।

त्यही आवेगमा रायले युवतीका आफन्त र साथीभाइलाई मेसेन्जरबाट उनका गोप्य फोटो र भिडिओ पठाइदिए। यसरी चरित्रहत्या गरी मानसिक तनाव दिएको भन्दै पीडित युवतीले ब्युरोमा उजुरी दिइन् । सोही उजुरीका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गर्दै जाँदा रायको संलग्नता भेटिएको ब्युरोले पत्ता लगाएको छ।

उनलाई नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: