पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन चैत १० गते हुने

Share:

पोखरा। त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत १० गते हुने भएको छ। आगामी आइतबार (चैत १०) गते बिहान ८ बजेदेखि निर्वाचन हुनेगरी समय तय गरिएको क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले जानकारी दिए।

अखिल छैटौंको चुनाव चिह्न विबना मतपत्र छापिएपछि विवाद भएको थियो। सोही विवादका कारण रोकिएको मतदान आगामी आइतबार हुने भएको हो। समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौंको चुनाव चिह्न थिएन। मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाएका थिए।

९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ। यसपटक संगठनहरु विरासत जोगाउने र भत्काउने रणनीतिमा छन्।

पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन्। अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन्।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन्। विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीहरुले साथ दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: