बन्दीपुर घुम्न आउने अशक्त पर्यटकको लागि डा. स्वर्णिम वाग्लेले गरे ह्वीलचेयर सहयोग

Share:

तनहुँको बन्दीपुर, जुन पहाडकी रानी उपनामले प्रसिद्ध छ, अहिले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ मनाउँदै पर्यटन प्रवर्द्धन गर्दैछ। भ्रमण वर्ष २०२५ मनाइरहेका बन्दीपुरमा आगन्तुक अशक्तहरूको सहयोगका लागि सांसद स्वर्णिम वाग्लेले दुईवटा ह्वीलचेयर सहयोग गरेका छन्।

बन्दीपुर बजारमा घुम्न आउने अशक्त, अपांगता भएका र जेठ नागरिकहरूलाई लक्षित गरी सांसद स्वर्णिम वाग्लेको सचिवालयको तर्फबाट दुईवटा ह्वीलचेयर उपलब्ध गराइएको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला सहसचिव र संगठन विभाग प्रमुख अनिल श्रेष्ठले दिएका छन्। बजारभित्र सवारी साधन प्रवेश गर्न नपाउने र हिँडडुल गर्न असमर्थ पर्यटकहरूको लागि उक्त ह्वीलचेयर सहयोग प्रदान गरिएको श्रेष्ठले बताए।

उक्त ह्वीलचेयर बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान, भ्रमण वर्ष २०२५ को सचिवालय संयोजक बैस गुरुंग, दवु बन्दीपुरका अध्यक्ष पदम प्रधान र स्थानीय पर्यटन व्यवसायीहरूलाई हस्तान्तरण गरिएको हो।

सांसद वाग्लेले बन्दीपुर भ्रमण वर्ष २०८२ को अवसरमा वैशाख ९ गते बन्दीपुरमा भ्रमणका लागि सम्पूर्ण सांसदलाई केही दिनअघि संसद भवनबाट चिठी पठाउनु भएको थियो। सांसद वाग्लेले नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपाली दाजु भाइ र दिदी बहिनीहरूलाई पर्यटन वर्ष मनाउन बन्दीपुरमा हार्दिक निमन्त्रणा गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सशी रुपाखेतीले बताइन्।

कमेन्ट गर्नुहोस्
Share: