
पोखरा। पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ। एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा-३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप सञ्चालन गर्न लागेको हो।
एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए। दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने रोकाले बताए।
प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ। पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ।
प्रतियोगिताबाट बचत रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन्। उनीहरुलाई प्रशिक्षणसमेत नि:शुल्क गराइनेछ । खेलकुदमार्फत भाइचारा स्थापित गर्न यो प्रतियोगिताले टेवा पु¥याउने आयोजकको विश्वास छ।
