
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरेका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा हितेन्द्रदेवलाई दिएको थियो।
शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन्। उनले आफूले बल्ल न्याय पाएको छ अनुभूति भएको पनि बताए। उनलाई हटाएर तत्कालीन सरकारले कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याएको थियो। कुलमानलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पदबाट हटाएको थियो।
तत्कालीन सरकारले आफूलाई हटाएर कुलमानलाई नियुक्त गरेको भन्दै शाक्यले हालेको रिटमा ३१ औँ पटक सर्वोच्च अदालतमा तारिख धाउँदा पनि फैसला आएको थिएन। शाक्यले दायर गरेको रिटमा सुनुवाइका लागि १३ पटक इजलास बसेर पनि न्यायाधीशहरूले हेर्न नभ्याउँदा उनी कार्यकाल गुजारेर घर फर्किएका थिए। तर घर फर्किसकेका हितेन्द्र कांग्रेस-एमालेको संयुक्त जोडबलमा प्राधिकरणको नेतृत्वमा फर्किएका छन्।
‘३३ वर्षको अनुभव, प्राविधिक दक्षतालाई आधार मानेर अब यहाँ काम गर्नेछु। ऊर्जा क्षेत्रमा केही ठूला चुनौती छन्। हेर्दा बाहिर सबै ठिक छन् भन्ने देखे पनि ठूला समस्या भएको जानकारी पाएको छु,’ उनले भने, ‘त्यसलाई सबै साथीहरू मिलेर संस्थालाई प्राथमिकता दिएर हल गर्नेछौँ।’
