
हेटौँडामा आफ्नै देवरले भाउजूको बीभत्स हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकी टोलमा २२ वर्षीय राहुल दासले बुधवार आफ्नै जेठी भाउजूको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधवार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन्। यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन्। उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइमाथि खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो। घरका सदस्यहरूले जेठी बुहारी गुडियालाई नदेखेपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठाभित्र मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकुरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने बताए। राहुललाई प्रहरीले पक्राउ गरेको छ। राहुलले किन र के उद्देश्यले भाउजू र माइलो दाइमाथि आक्रमण गरे भन्ने खुली नसकेको उनको भनाई छ।
