पोखरामा आजदेखि पहिलोपटक अटो सो सुरु, ४ दिनमा ३५ हजारभन्दा धेरैले अटो सो अवलोकन गर्ने अनुमान

Share:

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आजदेखि पहिलो पटक ‘नाडा प्रिजेन्टस् वाडा अटो सो २०२५’ सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) को संयुक्त आयोजनामा अमरसिंह माविको खेल मैदानमा हुने सो १७ गतेसम्म चल्नेछ । पोखरा महानगरका मेयर धनराज आचार्यले यसको उद्घाटन गर्ने तय छ।

वाडा उपाध्यक्ष एवं अटो सो २०२५ संयोजक निरन केसीका अनुसार गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको विस्तार, प्रवद्र्धन तथा आधुनिक प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, प्रविधि, सेवा प्रदायक, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय संस्था तथा सम्बन्धित क्षेत्रका व्यवसायीको उल्लेखनीय उपस्थिति रहनेछ।

प्रदर्शनीमा १९ ब्रान्डका चारपांग्रे, ६ ब्रान्डका लाइट कमर्सियल, ७ ब्रान्डका दुईपांग्रे सवारी साधन प्रदर्शन गरिनेछन्। २० स्टलमा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकका सामग्रीसमेत राखिनेछन्। ४ दिनमा ३५ हजारभन्दा धेरैले अटो सो अवलोकन गर्ने आयोजकको अनुमान छ।

कोइरालाका अनुसार प्यासेन्जर सवारीमा लिपमोटर, डिपल, ओमोडा, बिवाइडी, नामी, एमजी, टाटा, किया, टोयोटा, स्काइवेल, जिकर, निसान, इसुजु, सुजुकी, महिन्द्रा, रिडारा, एक्सपेङ, कायी र सेरेस सहभागी हुँदै छन्। यस्तै, लाइट कमर्सियलमा कामा, यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ ब्रान्ड सहभागी हुँदै छन्। दुई पांग्रेतर्फ बजाज, एथर, टिभिएस, यामाहा, ट्राइम्फ र रोयल इन्फिल्डले स्टल राख्नेछन्।

सवारी साधन सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सडक सुरक्षा तथा ट्राफिक नियम पालनासम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

पोखरा लायन्स क्लबको सहकार्यमा चैत १५ गते रक्तदानसमेत आयोजना गरिनेछ। यो अटो सोले गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको बजारीकरण, प्रविधि हस्तान्तरण तथा नवप्रवर्तनका लागि प्लेटफर्म उपलब्ध गराउने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: