
काठमाडौँ । रवि लामिछाने रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका छन्। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठक लामिछानेको सभापतित्वमा बस्नेछ।
झाका अनुसार सोमबार केन्द्रीय समितिको दुईवटा बैठक एकपछि अर्को गरी निरन्तर बस्नेछ। पहिलो बैठकमा कार्यवाहक सभापतिबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ।
लगत्तै दोस्रो बैठक पार्टी सभापतिको सभापतित्वमा हुनेछ। बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आ-आफ्नो संक्षिप्त रिपोर्टिङ हुने जनाइएको छ।
त्यस्तै बैठकमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस र अधिवेशनरमहाधिवेशन कार्यतालिकाका बारेमा पनि छलफल हुनेछ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि गत पुस ८ गते सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएका थिए। उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
