
काठमाडौँ । गत वर्ष सञ्चालनमा आएको जडीबुटीमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको भवनदेखि प्रशासनिक भवनसम्म जलेको छ। गत वर्ष खरिद गरिएको प्याकेजिङ मेसिन, बजारमा लैजान तयारी अवस्थामा रहेको सन्चोदेखि अन्य उत्पादन जलेर नष्ट भएको छ। भवन बस्नै नमिल्ने अवस्थामा पुगेको छ। कर्मचारी बस्ने कार्यकक्ष नै छैन।
आइतबार कार्यालय पुगेका कर्मचारी परिसरबाहिर बसेका थिए। ‘२८ वर्षदेखि काम गर्दै आएको संस्था आँखाअगाडि जल्न थाल्यो। लाचार भएर हेर्नबाहेक केही गर्न सकिएन। धेरै कर्मचारी शुक्रबार भएर घर गइसकेका थिए। प्रबन्ध निर्देशक म्याडम र हामी केही मात्र थियौँ,’
कम्पनीका प्रशासन प्रमुख धर्मलाल नेपाल भन्छन्, ‘एक्कासि ढुंगा बज्रिन थालेपछि भाग्न थाल्यौँ। हामी बाहिर निस्किएको देखेपछि सरकारी कर्मचारी रैछ भन्दै पछाडि पछाडि ढुंगा हान्दै आएका थिए। बल्लबल्ल ज्यान जोगाउन सक्यौँ।’
कम्पनीका एक कर्मचारीले घटना विवरण यसरी सुनाए, ‘गेट फोडेर भित्र आएकाले गाडीमा आगो लगाउन थाले। दुईवटा गाडीमा आगो लाग्न थाल्यो। सुरक्षाकर्मी पनि हाम्रो कार्यालयको परिसरका थिए। ढुंगामुढापछि सुरक्षाकर्मी पनि भाग्न थाले। त्यसपछि त झन् हौसिएर अगाडि बढ्दै भवनमा आगो लगाउन गए। आगो दन्किँदै गयो। दमकल पनि समयमा आएन। ५ बजेदेखि लाग्न थालेको आगो रातिको १ बजे मात्र निभेको थियो।’
कम्पनीकी महाप्रबन्धक संगीता यादवले बजार पठाउन तयार भएको सामानदेखि कच्चा पदार्थ, फर्निचर, ल्याब, मेसिन सबै जलेको जानकारी दिइन्। ‘कति क्षति भयो भनेर अध्ययन गर्न कार्यदल गठन भएको छ। गत वर्षदेखि सञ्चालनमा आएको सिलिङ मेसिन क्षति पुग्दा काम सुरु गर्न समस्या आउने देखिएको छ। अहिले तत्काल वीरगन्जको तामागढी शाखाबाट उत्पादन बढाउने सोचेका छौँ,’ उनले भनिन्।
कसरी पुनः सञ्चालन गर्ने भनेर छलफल गरिरहेको भन्दै महाप्रबन्धक यादवले थपिन्,‘कमाएर खाने संस्था हो। धेरै समय उत्पादन रोक्न मिल्दैन। कुनकुन स्थान प्रयोग गर्न सकिन्छ हेदौँ छौँ, सरकारको सहयोग भए छिटै काम सुरु गर्छौं।’
सरकारी स्वामित्वमा रहेका तीन औषधि कम्पनीमध्ये नाफामा गएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड मात्रै हो। विसं २०३८ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको यो कम्पनी लामो समयसम्म राम्रोसँग चल्न नसकेको कम्पनीले आर्थिक वर्ष २०७५र७६ देखि नाफा कमाउन थालेको थियो।
स्थापना भएको ३७ वर्षपछि पहिलोपटकको नाफामा कर तिरेर एक करोड ९२ लाख कमाएको थियो। आर्थिक बर्ष २०७६र७७ मा पनि एक करोड २२ लाख नाफा कमाएको कम्पनीले सेयरधनीलाई लाभांश पनि बाँड्न थालेको थियो।
आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ९१ लाख नाफा कमाएको कम्पनी २ वर्षयता भने घाटामा गएको थियो। २०७८/७९ मा १ करोड ६७ लाख र २०७९/०८० मा २ करोड ८४ लाख रूपैयाँ घाटा भएको थियो। कम्पनीको अधिकृत पुँजी ५ करोड छ भने सञ्चित नाफा २७ करोड रूपैयाँ छ।
वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैङ्क, नेपाल औषधि लिमिटेड र वन पैदावार विकास समिति कम्पनीको सेयर सदस्य छन्। सन्चो ब्रान्डको रूपमा कम्पनीले थुप्रै जडीबुटीका औषधि निर्माण गर्दै आएको छ। जसले पछिल्लो समय मह उत्पादन र प्रशोधन गरी बिक्री सुरु गरेको थियो।


