
पोखरा। होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्बन्धि विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिबद्धता जनाएका छन्।
उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल बनाउन सल्लाह र सुझाव मागेको थियो। छलफल कार्यक्रममा संघ-संस्था र आमा समूहका पदाधिकारीले फेवा महोत्सव आफ्नै घरगाउँको महोत्सव भएको र यसले नेपाली कला र संस्कृतिको जगेर्नामा सघाउने भन्दै एक भएर सहयोग गर्ने भनाई राखेका थिए।
संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सवको तयारी द्रुत गतिमा अगाडि बढ्दै गरेको जानकारी गराए। विगतका कमिकम्जोरी सच्याउँदै सबैको सल्लाह र सुझाव अनुसार महोत्सव संचालन गरी भव्य रुपमा सम्पन्न गरिने अध्यक्ष सुवेदीले बताए।
उनले हरेक वर्ष फेवा नव वर्ष महोत्सव परिस्कृति रुपमा संचालन गर्दै आइएको स्मरण गराउँदै यसपटक पनि महोत्सव भव्य हुने भनाई राखे। नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले महोत्सवलाई सफल पार्न बोर्डले लामो समयदेखि सघाउँदै आएको स्मरण गराउँदै यसपटक पनि संस्थाको तर्फबाट सक्दो सहयोग गरिने भनाई राखे। बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवद्र्धन भएको भन्दै उनले निजी क्षेत्रको सल्लाह र सुझाव अनुसार नै बोर्ड अगाडि बढ्ने बताए।
होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा नव वर्ष महोत्सव नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजना गरिएको स्मरण गराउँदै यसको सफलताका लागि सबैले सकारात्मक सहयोगको खाँचो औंल्याए। आयोजक संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए।
महिला सञ्जाल वडा नम्बर ६ का अध्यक्ष वविता मल्लले महोत्सवको उद्घाटनका अवसरमा आयोजना हुने झाँकी तथा र्यालीमा सहभागी हुने महिलाका सुझाव र गुनासो सुनेर अगाडि बढ्न संघलाई सुझाव दिइन्। संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले केही चुनौति मोलेर भए पनि संघ महोत्सवलाई सफल पार्न लागि परेको जानकारी गराए।
सोमबारको कार्यक्रममा पोखरा पर्यटन परिषद् अन्तर्गतका विभिन्न संघसंस्थाका अध्यक्षहरुले महोत्सव सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने वचनवद्धता प्रकट गरेका थिए। महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा यसअघि नै गरिसकिएको छ। संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको थियो।
स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको हो।
लेकसाइडस्थित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुनेछ। महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन्। छलफल तथा अन्तरक्रिया कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेरका थिए।
