
पोखरा। गजेन्द्रमोक्षनारायण-मुक्तिनाथ-रथयात्रा पर्यटन राजधानी पोखरा आइपुगेको छ।रथयात्रालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको भण्डारढिकमा स्वागत तथा सम्मान अर्पण गरे।
गजेन्द्रमोक्षनारायण धामबाट सुरु भएको रथयात्रा पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथमा पुगेर ६ महिनासम्म चल्ने महायज्ञमा परिणत हुनेछ।
मुक्तिनाथ बाबाको परिकल्पना तथा सङ्कल्पमा आयोजित यो रथयात्रा तथा षड्मासिक मुक्तिनाथ महायज्ञ अनुष्ठानका लागि रथयात्राका क्रममा श्रद्धालुहरूबाट सङ्कलित माटो र पुष्प चढाइनेछ।
मुक्तिनाथ प्रवेशद्वार पोखराको समेत धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरेका छन्।
रथयात्रा तथा षड्मासिक मुक्तिनाथ महायज्ञले समग्र पोखरालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ मिल्ने यज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ बाबाले बताएका छन्। रथयात्रा बुधवार पोखरा परिक्रमा गरी बाग्लुङ प्रस्थान गर्ने छ।



