
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको अन्तिम दाह संस्कार गरिएको छ।
बुधबार काठमाडौंको शोभाभगवतीमा पत्रकार सुरेश रजकको अन्तिम दाहसंस्कार गरिएको हो। उनको पार्थिव शरीरमा ठूलो दाजु रमेश रजकले दागबत्ती दिएका थिए।
आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि परिवारले बुझेका थिए।
बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको थियो।
घटनाको पाँचौँ दिन पोस्टमार्टमपछि शिक्षण अस्पताल, नारायण गोपाल चोक, बालाजु हुँदै नयाँ बजार, सोह्रखुट्टे हुँदै इन्द्रायणीको शोभाभगवतीसम्म शव यात्रा गरिएको थियो।
पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएको अस्पतालले पुष्टि गरेको थियो।
यसअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स-रे समेत गरिएको थियो।
एक्स–रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो।
