गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ३ जनाको नाम सिफारिस

Share:

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपति छनोट समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गरेको छ। तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्तिको निर्णय गर्ने छ। विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा. कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम समावेश गरिएको बन्द खाम हस्तान्तरण गरेका हुन्।

प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका ३ जनाको नाम सिफारिस गरिए पनि नाम भने सार्वजनिक भइसकेको छैन। २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो। ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो।

स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा. कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा (सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन्। यी ५ जनामध्येबाट ३ जनाको नाम सिफारिस भएको छ।

विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ अनुसार, कुलपति पदका लागि आवेदन दिएका र स्वीकृति पाएका उम्मेदवारहरूले अब प्रस्तुतीकरण र अन्तर्वार्ताका चरणहरू पार गर्नुपर्छ। ५ जनाले यी चरण पार गरेपछि बुधबार रातिसम्म काम गरेर समितिले नाम सिफारिस गरेको हो।

कुलपति पदका उम्मेदवारहरूले आफ्नो योग्यता, अनुभव र भविष्यको कार्ययोजनाबारे प्रस्तुतीकरण गर्ने अवसर पाएका थिए। गत फागुन ४ मा कुलपति प्राडा. गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो। १५ दिनको अवधि राखेर सूचना प्रकासन गरिएकामा ७ जनाको आवेदन परेको थियो। २ जनाको आवेदन अस्वीकृत भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: