शान्ति निकेतनमा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत

Share:

पोखरा। पोखरा महानगरपालिका- ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ। विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो।

यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि वितरण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे। भण्डारीले पोखरा महानगरका २७५ विद्यालयमध्ये यस विद्यालय नतिजाका आधारमा उत्कृष्ट १० भित्र रहेको उल्लेख गरे।

भौतिक पूर्वाधार निर्माणसँगै उत्कृष्टतालाई निरन्तरता दिई सर्वोत्कृष्ट बन्न उनले शुभकामना दिए।विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेको जनाए।

डा. पराजुलीले झण्डै १४ करोड लगानीमा नयाँ भवन निर्माण कार्य सुरु भएको जनाउँदै विद्यालयको लगानी बढेपनि हाललाई शुल्क नबढाइने स्पष्ट पारे। संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले प्राचार्य र शिक्षकहरुको लगाव र विद्यार्थीको मेहनतले हाँसिल गरेको विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको बताए। कार्यक्रममा धर्मस्थली आधारभूत विद्यालयकी प्रधानाध्यापक वदनकुमारी शर्माले शान्ति निकेतन स्कुल पोखराकै गौरवलायक शैक्षिक संस्था रहेको बताइन्।

विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले स्वागत तथा विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। विद्यालयमा सर्वोत्कृष्ट विद्यार्थीहरू नोरा गुरूङ र प्रसिद्धि बरालसँगै वर्षभर एक दिन पनि अनुपस्थित नभई शत प्रतिशत हाजिर हुने शिक्षक भुवानीप्रसाद अधिकारी र शिक्षिका जमुना भुजेललाई पनि सम्मान गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: