पाथीभरा मन्दिरमा एकै दिन सात हजारभन्दा बढी भक्तजनले गरे दर्शन

445
0
Share:

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार  एकैदिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । दसैँ, तिहारपछि आज एकैदिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज सात हजार १४६ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार दसै, तिहारपछि पहिलोपटक सात हजार बढी भक्तजन यहाँ पुगेको यो पहिलो  पटक हो ।

तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो मौसममा बर्सेनि भक्तजनको आगमन घट्ने गरेको निर्देशक हाङबाङले बताए । यो वर्ष चिसोसँगै केबलकार निर्माणका क्रममा हाल पाथीभरा आउनजान केबलकार निर्माणको विषयले कुनै असर नगर्ने बताउँदै उक्त विषयलाई लिएर अन्योलमा नपर्न हाङबाङले भक्तजन तथा पर्यटकलाई आग्रह गरे ।

यसैबिच, पाथीभरा क्षेत्रमा सिजनमा भक्तजनको घुइँचो बढी हुने भएकाले कुनै समस्या भएमा मन्दिर क्षेत्र विकास समिति वा पाथीभरा क्षेत्रमा रहेका सुरक्षा निकायसँग सम्पर्क र समन्वय गर्न समितिले सबैलाई अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: