
पोखरा । पोखरा रङ्गशालाको क्रिकेट खेल मैदानमा जारी केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमीफाइनलमा पुगेको छ। समूह ‘ए’ को विजेता बन्दै काठमाडौँ अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो। पोखरालाई हराउँदै ३ खेलमा अपराजित रहँदै ६ अङ्कका साथ समूह विजेता बनेको हो।
५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौँले ४ दशमवल २ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो। टस जितेर ब्याटिङ थालेको पोखरा १७ दशमलव २ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो।
सोही समूहको दोस्रो खेलमा हेटौँडा स्पोर्ट्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ। १सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौँडाले १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनायो। टस जितेर ब्याटिङ थालेको स्याङजा १९ दशमवल ५ ओभरमा १ सय ७६ रन बनाएर अलआउट भएको थियो।
प्रतियोगिताको चौथो दिन मङ्गलबार समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबिच पहिलो खेल हुनेछ, भने सोही समूह अन्तर्गत गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबिच दोस्रो खेल हुनेछ। १६ टिमको सहभागिता रहेको प्रतियोगिता वैशाख ५ गतेसम्म चल्ने छ। चार समूहमा १६ टिमलाई विभाजन गरिएको छ भने विजेता टोली सेमिफाइनलमा पुग्नेछ।
