
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा गर्दैछ।यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको कार्यक्रम प्रशासनले अनुमति नदिएपछि बल्खु सारिएको हो। राप्रपाले आजको आमसभालाई शान्तिपूर्ण बनाउन स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने तयारी गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाइ रोक्न बिहान ९ बजेदेखि नै स्वयंसेवक खटाइने बताएका छन्।
राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने लिङदेनले बताएका छन्। आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिएका छन्।
गत १५ गतेको राजावादी आन्दोलनका क्रममा अराजक गतिविपिध गरेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा लगायत हाल हिरासतमा रहेका छन्।
