ल्वाङगाउँमा मेला जारी, आजदेखि पुरुषतर्फको भलिबल सुरु

Share:

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ पर्यटकीय ल्वाङगाउँमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला जारी छ। ग्रिनहिल युवा क्लबको आयोजनामा गत २४ गतेदेखि ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित जारी मेलामा आज (बुधबार) देखि पुरुषतर्फको भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए।

उनका अनुसार आज पहिलो चरणका ५ वटा खेल सम्पन्न भएका छन्। ल्वाङको खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक ल्वाङ टिम ‘ए’ लाई ठाँटीले २-० को सोझो सेटमा पराजित गर्‍यो।

यस्तै दोस्रो खेलमा धम्पुसलाई नयाँपुलले २-० कै सोझो सेटमा हराउँदै नयाँपुल दोस्रो चरणमा प्रवेश गर्‍यो। तेस्रो खेलमा ल्वाङ टिम ‘बि’ लाई कुँइबाङले पनि २-० कै सोझो सेटमा पराजित गर्‍यो। चौथो खेलमा पकुवाले ल्वाङलाई २-० को सोझो सेटमा पाखा लगायो। पाँचौ खेलमा घाचोकले ल्वाङ टिम ‘सि’लाई २–० कै सेटमा हराउँदै घाचोक दोस्रो चरणमा प्रवेश गर्‍यो ।

आज भएको अन्तिम तथा दोस्रो चरणको पहिलो खेलमा ठाँटीलाई युके लण्डनले २-० को सेटमा पराजित गर्दै युके लण्डन क्वाटरफाइनलमा प्रवशे गरेको संयोजक गुरुङले बताए।

उनका अनुसार पुरुषतर्फ २४ टिमको सहभागिता रहेको छ। यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ। पुरुषतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ।

यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वितीयलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ। उनका अनुसार सो मेलामा म्युजिकल चियर, बेलुन फुटाउने प्रतियोगिता सम्पन्न भइसकोको छ भने, हरेक बेलुका विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्याति प्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुति रहदैं आएको छ।

कमेन्ट गर्नुहोस्
Share: