
पोखरा। पोखराको बाटुलेचौरदेखि जोगीमणीको तुम्केसम्म नयाँ वर्षको दिन शुभकामना दौड हुने भएको छ। हिमालय क्लव र नमुना क्लबको आयोजनामा आगामी वैशाख १ गते नयाँ वर्षको स्वागत स्वरुप आयोजना हुने दौडमा ५० वर्ष माथिका पुरुष र ४९ वर्ष मुनिका महिला तथा पुरुषले सहभागिता जनाउने हिमालय क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए।
मैदानवाट बिहान सुरु हुने दौड नमुना खेल मैदान तुम्के पुगेर सम्पन्न हुने बताइएको छ। दुवै विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद ५ हजार, ३ हजार, १ हजार र सान्त्वना पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताए।
कार्यक्रममा वडा नं. १६ र १९ का स्थायी तथा अस्थायी बासिन्दाले सहभागिता जनाउन सक्ने क्लबले जनाएको छ। कार्यक्रमको तथारी तिव्र पारिएको र सहभागी दर्ता भैइरहेको बताइएको छ। कार्यक्रममा सहभागीबिच शुभकामना आदान गरिने समेत जनाइएको छ।
